Logo
Logo

इटलीमा विद्यालयमा बुर्का र नकाब प्रतिबन्ध, विदेशी विद्यार्थीमा ३० प्रतिशतको सीमा


0
Shares

काठमाडौँ । इटलीले विद्यालय शिक्षामा व्यापक सुधार गर्ने उद्देश्यसहित ल्याएको नयाँ कानुनलाई संसद्को तल्लो सदनबाट पनि स्वीकृति दिएको छ । नयाँ कानुनले विद्यालयमा बुर्का र नकाब लगाउन प्रतिबन्ध लगाउनुका साथै पहिलो कक्षामा विदेशी मूलका विद्यार्थीको संख्या ३० प्रतिशतमा सीमित गरेको छ ।

चेम्बर अफ डेपुटिज (तल्लो सदन) मा भएको मतदानमा सुधारको पक्षमा १४२ मत परेको थियो भने विपक्षमा ११२ मत परेको थियो । चार सदस्य मतदानमा सहभागी भएनन् । विपक्षी दलहरूले भने नयाँ व्यवस्थालाई भेदभावपूर्ण भन्दै विरोध गरेका छन् ।

नयाँ कानुनमा विदेशी अभिभावकका लागि इटालियन भाषा सिक्ने पाठ्यक्रम सञ्चालन गर्ने व्यवस्था पनि समेटिएको छ । आफ्ना बालबालिकालाई इटलीको शिक्षा प्रणालीमा समायोजन गर्न कठिनाइ भइरहेका अभिभावकलाई लक्षित गरी यस्तो व्यवस्था गरिएको हो ।

२० नोभेम्बरमा माथिल्लो सदनबाट पारित

‘डेक्रेटो स्कुओला’ नाम दिइएको यो कानुनलाई माथिल्लो सदन सिनेटले यसअघि नै २० नोभेम्बरमा पारित गरेको थियो । यो ३० सेप्टेम्बर २०२६ को डिक्री–ल १७० को हिस्सा हो ।

कानुनमा २०२६–२७ शैक्षिक सत्र नियमित रूपमा सञ्चालन गर्ने, राष्ट्रिय पुनःस्थापना तथा उत्थानशीलता योजना (पीएनआरआर) अन्तर्गतका कार्यक्रमलाई सहयोग गर्ने र विदेशी विद्यार्थीको एकीकरणलाई प्रोत्साहन गर्ने व्यवस्था समेटिएको छ ।

के छ नयाँ व्यवस्थामा ?

नयाँ नियमअनुसार मुस्लिम छात्राहरूले विद्यालयका कक्षाकोठामा बुर्का र नकाब लगाउन पाउने छैनन् । त्यस्तै, पहिलो कक्षामा विदेशी मूलका विद्यार्थीको संख्या कुल विद्यार्थीको ३० प्रतिशतभन्दा बढी हुन नपाउने व्यवस्था गरिएको छ ।

तर, इटालियन भाषामा पर्याप्त ज्ञान भएका विदेशी मूलका विद्यार्थीका हकमा भने ३० प्रतिशतको सीमा लागू हुने छैन ।

तल्लो सदनमा अन्तिम मतदान भइरहँदा विपक्षी सांसदहरूले विरोध प्रदर्शनसमेत गरेका थिए । उनीहरूले संसद् भवनभित्र ‘विद्यालयमा कोही पनि विदेशी हुँदैन’ लेखिएको प्लेकार्ड प्रदर्शन गरेका थिए ।

मेलोनीको प्रस्तावलाई कानुनी रूप

विदेशी विद्यार्थीको संख्या ३० प्रतिशतमा सीमित गर्ने व्यवस्था भने इटलीका लागि नयाँ होइन । सन् २०१० मा तत्कालीन शिक्षामन्त्री मारियास्टेला गेल्मिनीले जारी गरेको परिपत्रमार्फत पनि यस्तै व्यवस्था लागू गरिएको थियो । तर, स्थानीय जनसांख्यिक अवस्थिति र लचिलोपनको अभावका कारण विशेषगरी सहरी क्षेत्रका बाहिरी बस्तीमा यसको प्रभावकारी कार्यान्वयन हुन सकेको थिएन ।

प्रधानमन्त्री जर्जिया मेलोनीले यसै वर्षको सुरुवातमा आफ्नो सरकारले विद्यालयमा बुर्का र नकाब प्रतिबन्ध लगाउने, कक्षाकोठामा विदेशी विद्यार्थीको संख्या सीमित गर्ने तथा समाजमा घुलमिल हुन कठिनाइ भइरहेका बालबालिकाका अभिभावकका लागि इटालियन भाषा सिकाइ अनिवार्य गर्ने कानुन ल्याउने घोषणा गरेकी थिइन् ।

आफ्नो पार्टी ब्रदर्स अफ इटलीको युवा संगठन ‘जियोभेन्टु नाजियोनाले’ले आयोजना गरेको र्‍यालीमा उनले प्रस्तावित व्यवस्थाको बचाउ गरेकी थिइन् । उनले इटालियन विद्यार्थी आफ्नै कक्षाकोठामा अल्पसंख्यक बन्नुपर्ने अवस्था आउन नहुने तर्क गरेकी थिइन् ।

‘इटलीका कक्षाकोठामा इटालियन बालबालिकाले नै आफूलाई किनारामा परेको वा एक्लिएको महसुस गर्नुपर्ने अवस्था स्वीकार्य छैन । किनभने उनीहरू आफ्नै कक्षाकोठामा अल्पसंख्यक बनेका छन् । यस्तो हुन दिन सकिँदैन,’ मेलोनीले भनेकी थिइन् ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000