काठमाडौं । भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा बस्दै आएका सुकुमवासीले सडकमा बसेर खाना खाएका छन् । हिजोदेखि सेन्टरमा खाना बन्द भएपछि आज बिहान बाहिरबाट खाना लिएर पुगेका अभियन्तालाई प्रशासनले भित्र प्रवेश गर्न नदिएपछि उनीहरूले सेन्टरबाहिरै सडकमा खाना बाँडेका हुन् ।

बोडेस्थित कृषि विकास बैङ्कको तालिम केन्द्रमा आश्रय लिइरहेका १९ परिवारका ५९ जना सडकमा बसेर खाना खान बाध्य भएका हुन् । गत वैशाखमा थापाथली, गैरीगाउँ र मनोहरा लगायतका नदी किनारका बस्तीबाट हटाइएका सुकुमवासीलाई सरकारले काठमाडौंको नागार्जुन तथा भक्तपुरको बोडे र खरिपाटीमा अस्थायी बसोबासको व्यवस्था गरेको थियो । उनीहरू सात महिनादेखि ती स्थानमा बस्दै आएका छन् ।
बोडेमा बस्दै आएकाहरूलाई जिल्ला प्रशासन कार्यालय भक्तपुरले शुक्रवार दिउँसो २ बजेसम्म होल्डिङ सेन्टर खाली गर्न निर्देशन दिएको थियो । त्यसअघि सुरक्षाकर्मीले माइकिङ गरेर पनि ठाउँ छाड्न भनेका थिए ।
वैकल्पिक आवासको व्यवस्था नगरी हटाउन खोजिएको भन्दै सुकुमवासीले प्रशासनको निर्देशनको विरोध गर्दै आएका छन् । उनीहरूले बिहीबार रित्तो थाल ठटाएर प्रदर्शनसमेत गरेका थिए ।
प्रशासनका अनुसार त्यहाँ बस्दै आएका १९ परिवारमध्ये सात परिवार भूमिहीन होइनन् भने १२ परिवारले सम्बन्धित पालिकाबाट जग्गा उपलब्ध गराउने निस्सा पाएका छन् । भूमि समस्या समाधान समितिबाट प्राप्त अभिलेखका आधारमा होल्डिङ सेन्टर खाली गर्न निर्देशन दिइएको छ ।
तर, सुकुमवासीले अभिलेखमा नाम देखिएकै आधारमा आफूहरूलाई भूमिहीन नरहेको निष्कर्षमा नपुग्न र प्रत्येक परिवारको वास्तविक अवस्था छानबिन गर्न माग गर्दै आएका छन् । सरकारले बस्तीबाट हटाइएकाहरूको लगत संकलन गरी १५ दिनभित्र व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए पनि सात महिनासम्म स्थायी आवासको व्यवस्था हुन सकेको छैन ।



















