Logo
Logo

विप्लव नसच्चिए कडा कारबाही गर्ने प्रधानमन्त्रीको चेतावनी


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, ८ फागुन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रका नाममा मनपरी गर्ने छुट कसैलाई पनि नभएको त्यस्ता समूहविरुद्ध सरकार कडा रुपमा प्रस्तुत हुने बताएका छन् । सुदूरपश्चिम प्रदेश सभामा आज विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले क्रान्तिका नाममा अशान्ति मच्चाउने, मुलुकलाई प्रगतिको बाटोमा जान नदिने चन्दाका नाममा लुट मच्चाउनेजस्ता राजनीतिक आवरणमा गरिने गतिविधि नियन्त्रण गरिने बताए ।

‘लोकतन्त्रका नाममा जसले जे गर्न पनि पाउने, गाली गर्ने छुट कसैलाई पनि छैन । त्यस्ता गतिविधि विरुद्ध सरकारले उचित कदम चाल्छ ।’ उनले भने, ‘क्रान्तिका नाममा अशान्ति मच्चाउने, मुलुकलाई प्रगतिको बाटोमा जान नदिने, पूर्वाधार निर्माणमा अवरोध गर्ने देश डुबाउने गतिविधि हुन्, सरकार यस्ता गतिबिधि हेरेर बस्न सक्दैन ।’

विप्लव नेतृत्वको माओवादीका गतिविधिप्रति लक्षित गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् । शान्ति, सु–व्यवस्था विना विकास सम्भव नभएको उनले बताए । यस्तै धर्मको नाममा प्रतिगमनको सपना नबोक्न पनि प्रधानमन्त्रीले चेतावनी दिए ।

धर्मको राजनीति गरेर राजतन्त्र फर्कन्छ भन्ने सपना नसोच्न उनले आग्रह गरे । ‘मुलुकमा धर्मको स्वतन्त्रता छ तर धर्मका नाममा राजनीतिक उद्देश्य प्राप्त गर्ने चेष्टा सरकारका लागि स्वीकार्य हुँदैन ।’ प्रधानमन्त्री ओलीले भने, ‘विभिन्न दाउपेचमा सरकार ढलिहाल्ने अवस्था पनि अहिले छैन, त्यसैले यस्ता गतिविधि विरुद्ध उचित कदम चाल्छौँ।’

विपक्षी दलले सरकार अधिनायवादतर्फ जान थालेको भन्ने हल्ला चलाएकोप्रति प्रधानमन्त्री ओलीले आपत्ति जनाए । लोकतान्त्रिक विधिबाट जनताले चुनेर पठाएको सरकार गठन भएकाले जनमतको कदर गर्न उनले आग्रह गरे । यो सरकार अरुले ल्याएको लोकतन्त्रमा बनेको नभइ मुलुकमा लोकतन्त्र ल्याउन आफैँ लडेको सरकार भएको प्रधानमन्त्री ओलीको भनाइ थियो ।

‘कसैले ल्याइदिएको लोकतन्त्रमा सरकार बनेको होइन, लोकतन्त्र ल्याएर लोकतान्त्रिक विधिबाट सरकार बनेको हो ।’ उनले भने, ‘मुलुकमा लोकतन्त्र ल्याउन हामीले जेलनेल भोगेका छौं, संघर्ष गरेका छौं । त्यसैले लोकतन्त्रको रक्षा गर्नु हाम्रो पहिलो दायित्व हो ।’

एकै दलको बहुमत आउन कठीन निर्वाचन प्रणालीमा पनि जनताले देशको विकास र समृद्धिका लागि कम्युनिस्टलाई बहुमत दिएको उल्लेख गर्दै उनले सरकार जनताको म्याण्डेडबाट विचलित हुन नसक्ले प्रष्ट पारे ।

‘कम्युनिस्ट भनेको अधिनायकवाद होइन, कम्युनिस्ट भनेको लोकतन्त्र हो । हामी पनि लोकतन्त्रका लागि लामो लडाइ लडेका छौं ।’ उनले भने, ‘कसैले आफूअनुकुल परिभाषा गरेको लोकतन्त्र होइन, हामीले सामाजिक न्याय, समानतासहितको लोकतन्त्र खोजेका हौं ।’

प्रतिक्रिया दिनुहोस्