
काठमाडौं । सिरहाको गोलबजारमा सुरक्षाकर्मीको गोली लागेर मृत्यु भएका गणेश यादवको परिवारका लागि मधेश प्रदेश सरकारले घर निर्माण गरिदिने भएको छ ।
सुनसरीको देवानगञ्जमा भएको घटनापछि उत्पन्न विवादसँगै सिरहामा सुरु भएको आन्दोलनका क्रममा साउन १४ गते गोलबजारमा सुरक्षाकर्मीको गोली लागेर औरही गाउँपालिका–२ तुलसियाहीका गणेश यादवको मृत्यु भएको थियो ।
मधेश प्रदेश सरकारको ‘विपन्नसँग मदन भण्डारी आवास योजना’ अन्तर्गत मृतक यादवको परिवारका लागि दुई कोठे घर, भान्सा (किचेन) र शौचालय निर्माण गरिने भएको हो । शुक्रबार साँझ मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री मनोजकुमार सिंह र मृतकका परिवारबीच यससम्बन्धी सहमति भएको छ ।
मन्त्री सिंहका अनुसार घटनालगत्तै आफू मृतकको घरमै पुगेर परिवारसँग भेटी समवेदना व्यक्त गरेका थिए । त्यसक्रममा परिवारको आर्थिक अवस्था कमजोर रहेको पाएपछि प्रदेश सरकारको बैठकमा आवास निर्माणको विषय उठाइएको र ‘विपन्नसँग मदन भण्डारी आवास योजना’ अन्तर्गत घर निर्माण गर्ने निर्णय गरिएको उनले बताए ।
उनका अनुसार मृतकका बुवा रामबृक्ष यादव, भौतिक पूर्वाधार कार्यालय सिरहाका इन्जिनियर रामनारायण यादव, औरही गाउँपालिका–२ का वडाध्यक्ष रामअयोध्या यादव तथा स्थानीय समाजसेवी र अगुवाहरूको उपस्थितिमा घर निर्माणसम्बन्धी लिखित सम्झौतासमेत गरिएको छ ।














