Logo
Logo

राधिकालाई गुराँस दिएर प्रधानमन्त्रीले भने,‘गुराँस दिएपछि प्रेम पक्का ’


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, १० फागुन ।
प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार काठमाडौंको दहचोक पुगेका थिए । त्यहाँ पुगेर उनले सबैको अगाडि श्रीमती राधिकालाई गुरासँको गुच्छा फुल दिएर प्रेम दर्शाए ।
राधिकाले पनि हास्दै लिइन् ।

त्यसपछि वरिपरिकाहरुसँग राधिकाले भनिन्,‘हरेक वर्ष दहचोक आएर मलाई यसरी नै गुराँस उपहार दिनुहुन्छ ।’

तीन वर्ष भयो ओली दम्पत्ति दहचोक जान थालेको । काठमाडौंको टुप्पो दहचोकमा केपी–राधिका दम्पत्ति फागुन ९ गतेकै दिन आउँछन् ।

फागुन ९ मा इतिहास पुरुष काजी कालु पाण्डेको समाधीमा सम्मान प्रकट गर्न ओली दम्पत्ति आउँछन् । बिहीबार पनि त्यसरी नै आएका थिए र विगत वर्षमा जसरी पत्नी राधिकालाई गुराँस दिए । प्रधानमन्त्रीले पत्नी राधिकालाई गुराँस दिएको देख्दा वरिपरिका वालवालिकाले पनि रमाइलो मान्दै तालि बजाए ।
गुराँसको थुँगा किन ? मञ्चबाट सम्वोधन गर्ने क्रममा ओलीले मीठो रहस्य खोल्दै भने ‘यहाँको मनकामना मन्दिर आएर गुराँसको फूल दिने । त्यसपछि प्रेम पक्का !‘ पतिले यस्तो भाषण गर्दा पत्नी राधिका स्वाद मानीमानी हासिन् ।

मजवुत प्रेम बनाउन आउने जोडिहरुका लागि गुराँसको अभाव नहोस भनेर ओलीले स्थानीयबासीलाई जुक्ति पनि सुझाए– ‘पाखाभरी गुराँस रोप्नुहोस् । प्रेम गर्न आउनेहरुलाई फूलको थुँगा अभाव नहोस् ।’

प्रधानमन्त्री ओलीले कार्यक्रममा एउटा नयाँ शैली पनि अपनाए । दहचोकमा गतवर्ष आफूले गरेको भाषण पढेर सुनाउन स्थानीय आयोजकलाई लगाए । आयोजकले पोहोरको भाषण पढेर सुनाए ।

पोहोर आजकै दिन उनले गरेको भाषणमा यस ठाउँको विकासका लागि केही प्रतिवद्धता गरेका रहेछन् । केही प्रतिवद्धता पूरा भएछ, केही चाहिँ पूरा हुने चरणमा रहेको देखियो । ओलीले कालु पाँडेको पूर्ण कदको शालिक बनाउने प्रतिवद्धता गरेका रहेछन् । त्यो शालिक अनावरण गरे ।

पाँचतले भ्यू टावर गतबर्ष शिलान्यास गरेका रहेछन्, यस बर्ष दुई तला ठडिसकेको देखियो । गतबर्ष ओलीको मोटर उकालोमा गुड्न नसकेर ठेलेर डाँडामा पुराउनु परेको रहेछ, यसबर्ष मजासँग मोटर डाँडामा पुग्यो । मनकामना मन्दिर जीर्णोद्वार गर्न निर्देशन दिएका थिए । यस बर्ष मन्दिर चिरिच्याँट्ट भइसकेछ । इन्द्रदहको जीर्णोद्वार गर्न निर्देशन दिएका थिए । त्यसको काम जारी रहेछ । ओलीको भनाई र गराई ठ्याक्कै मिलेछ ।
कालु पाँडेका बारे ओलीले भने– ‘हाम्रा पूर्खाहरुले ज्यान दिएर देश बचाए, हामीले ज्यान दिनु पर्दैन, अडानमा बसे पुग्छ ।’

उनले कालु पाँडेको समाधी नेपालीका लागि तिर्थस्थल भएको बताए । त्यसैगरी कालु पाँडेको समाधिस्थल दहचोकमा आयोजित तेस्रो इन्द्रदह पर्यटन महोत्सवको उद्ध्घाटन पनि गरे ।
यस क्षेत्रका सांसद कृष्णगोपाल श्रेष्ठले घोषणा गरे– ‘आउने वर्ष आजैकै दिन पाँचतले भ्यू टावर प्रधानमन्त्री ओलीले उद्ध्घाटन गर्नुहुनेछ । अनि दुरबीन घुमाइघुमाइ काठमाडौं खाल्डो हेर्नुहुनेछ ।’

तर, आउँदो वर्ष पनि ओली दम्पत्ति फागुन ९ मा दहचोक पुग्लान् ? मन्तव्यको अन्त्य प्रधानमन्त्री ओलीले यो वाक्यबाट गरे– ‘अर्को साल फागुन ९ गते भेटौंला !‘

प्रतिक्रिया दिनुहोस्