Logo
Logo
स्वास्थ्य र सौन्दर्य

कसरी हटाउने डार्क सर्कल, पफिनेस र रिङ्कल ?

स्वास्थ्य र सौन्दर्य


डा. रेखा थापा


भनिन्छ, ‘आँखा प्रकृतिले मानिसलाई दिएको अमूल्य उपहार हो ।’ आँखासँग सुन्दरताको विशेष सम्बन्ध हुन्छ । सुन्दर आँखाले मानिसको व्यक्तित्व झल्काउँछ । त्यसैले त आँखालाई सौन्दर्य र व्यक्तित्वको अभिन्न पाटो मानिन्छ । स्वस्थ र सुन्दर आँखाले मानिसको सौन्दर्यलाई झनै आकर्षक बनाउँछ । त्यसैले त आँखाबारे सधै सचेत हुनु पर्छ ।
आँखा वरिपरि आउने डार्क सर्कल, पफिनेस र रिङ्कलहरुले सुन्दरता र व्यक्तित्वमा समेत प्रभाव पार्छ । धेरै मानिसमा यस्तो समस्या देखिन्छ । तर, डार्क सर्कल, पफिनेस र रिङ्कल हटाउँदै आफ्नो सुन्दरतामा निखार ल्याउने उपायहरु पनि छन् ।

रिङ्कल आउने कारण
पर्याप्त निद्रा नपुग्नु, लगातार मोबाइल वा कम्प्युटर स्क्रिनमा हेरेर काममा व्यस्त हुनुु, सधै तनावमा रहनु, पोषणयुक्त खानाको कमी हुनु, धुम्रपान गर्नु र शरीरमा पानीको मात्र कम हुनुले आँखामा डार्क सर्कल, पफिनेस र रिङ्कल आउने गर्छ । त्यस्तै, वंशानुगत गुण, दीर्घरोग, र गुणस्तरहीन सौन्दर्य सामग्री प्रयोगका कारण पनि यस्तो समस्या हुने गर्दछ ।

उपचार पद्धति र सामग्री
आलु : आलुमा प्रशस्त मात्रामा भिटामिन ‘सी’ हुन्छ । यसमा प्राकृतिक रुपमा छाला गोरो बनाउने गुण हुने भएकोले डार्क सर्कल हटाउन उपयोगी हुन्छ । साथै यसले आँखाको पफिनेसलाई पनि कम गर्छ ।
प्रयोग विधि : आलुको टुक्रा काटेर हल्का रब गर्न सकिन्छ । पाँचदेखि दश मिनेट रहन दिएर पखाल्नुपर्छ । यसलाई अर्को तरिकाबाट पनि प्रयोग गर्न सकिन्छ । आलुको जुस बनाएर कपासले आँखा वरिपरि लगाउने र दश–पन्ध्र मिनेट सुक्न दिएर पखाल्ने । यसलाई दैनिक प्रयोग गर्दा राम्रो हुन्छ ।

काँक्रा : काँक्रा पनि आँखाको सुन्दरता बढाउनलाई प्रयोग गर्न सकिन्छ । काक्रामा प्रशस्त मात्रामा पानी हुने भएकोले आँखा वरिपरिको छालालाई हाइड्रेट गराउँछ र आँखाको रिङ्कल, डार्क सर्कल कम हुन्छ ।
प्रयोग विधि– काक्राको स्लाइस बनाएर २० मिनेट आँखामा राख्दा राम्रो हुन्छ । काक्रालाई प्रयोग गर्ने अर्को विघि पनि छ । काक्राको
जुस बनाएर फ्रिजमा राखी चिसो बनाउने र कपासले आँखा वरिपरि लगाएर १५ मिनेटपछि पखाल्ने ।

टि-ब्याग : टि ब्यागमा प्रशस्त मात्रामा ‘एन्टि अक्सिडेन्ट’ हुने भएकाले आँखाको डार्क सर्कल, पफिनेस र रिङ्कल कम गर्न प्रयोग गर्न सकिन्छ ।
प्रयोग विघि– टि ब्यागलाई पानीमा भिजाएर फ्रिजमा चिसो हुन दिने र आँखामा लगाएर आराम गर्ने । १० मिनेटपछि हटाउने । विशेषगरी ग्रीन–टी प्रयोग गर्न सकिन्छ । यसले आँखाको डार्क सर्कल, पफिनेस र रिङ्कल कम गर्न मद्दत पु¥याउछ ।

भिटामिन-इ : डार्क सर्कल, पफिनेस र रिङ्कल हटाउन ‘भिटामिन–इ’ फाइदाजनक हुन्छ । यसमा भएको ‘एन्टि अक्सिडेन्ट’ले छालालाई ड्यामेज हुन दिँदैन । आँखा वरिपरिको छालालाई स्वस्थ राख्छ ।
प्रयोग विधि– ‘भिटामिन–इ’लाई लोशन वा क्रिममा मिसाएर सुत्नुभन्दा अगाडि लगाएर हल्का हातले मसाज गर्ने । भिटामिन–इ क्याप्सुललाई रेगुलर लगाउने । रेगुलर प्रयोगगर्दा विस्तारै डार्क सर्कल, पफिनेस र रिङ्कल हराउँदै जान्छ ।

एलोभेरा, नरिवलको तेल र मह
एलोभेरा : एलोभेरा नरिवलको तेल र महलाई मिसाइ दैनिक आँखाको मालिस गर्नाले आँखाको कुनै पनि समस्या आउँदैन । एलोेभेरामा प्राकृतिक नमी हुन्छ । यसमा विभिन्न भिटामिन हुने भएकोले पफिनेस हटाउँछ ।

नरिवलको तेल : नरिवलको तेलमा ‘भिटामिन–इ’ हुने भएकोले डार्क सर्कल, आइब्याग र आँखा वरिपरि आउने चाउरीपन कम गर्छ ।

मह : मह एक बहुगुणकारी रेमिडी (औषधि) हो । यसमा प्राकृतिक रुपमा उपचार गर्ने गुण पाइन्छ जसले डार्क सर्कल र आइ ब्यागलाई हटाउँछ ।

एलोभेरा, नरिवल र महको प्रयोग
एलोभेरा काटेपछि २० मिनेट पानीमा डुबाएर राख्ने जसले गर्दा त्यसमा भएको विकार तत्व जान्छ । त्यसपछि बोक्रा काटेर जेल निकाल्ने । दुई चम्चा एलोभेरा जेलमा एक चम्चा नरिवलको तेल र एक चम्चा मह मिसाएर जेल तयार पार्ने । तयार जेललाई सुत्नु अगाडि आँखाको वरिपरि लगाएर हल्का हातले १० मिनेटसम्म ‘सर्कुलर र स्लाइडिङ’ मसाज गरी रातभर छोड्ने र बिहान पखाल्ने । यी तीनवटै रेमिडीले आँखा वरिपरि आउने चाउरीपन, डार्क सर्कल र पफिनेस (आइब्याग)लाई हटाउँछ । साथै आँखाको मसाजले मसललाई रिल्याक्स गराउँछ । रक्तसञ्चार बढाउँछ र कोलाजन उत्पादन बढाउँछ । जसले गर्दा अवश्य पनि आँखाको वरिपरिको छाला स्वस्थ हुन्छ र समस्याहरु आफैँ कम भएर जान्छ ।

ध्यान दिनु पर्ने कुरा
आँखाको वरिपरिको छाला एकदमै पातलो र संवेदनशील हुने भएकोले मसाज गर्दा एकदम हल्का हात प्रयोग गर्नुपर्छ । यसको अलावा आफ्नो जीवनशैलीमा ध्यान दिने । पोषणयुक्त खाना खाने, आवश्यक निद्रा पु¥याउने, तनावमुक्त रहन कोसिस गर्ने, गुणस्तरीय सौन्दर्य साधन प्रयोग गर्ने । धुम्रपान, मद्यपान नगर्ने । दिनमा एकपटक आँखालाई चिसोले सेक्ने ।
माथि उल्लेखित रेमिडिज् दैनिकरुपमा प्रयोग गर्दा राम्रो परिणाम आउँछ । समस्या विस्तारै कम हुन्छ । तर लामो समय प्रयोग गर्दा पनि कुनै प्रभाव देखिएन भने चिकित्सकसँग सम्पर्क गर्नुपर्ने हुन्छ । किनकि शरीरभित्र कुनै समस्या आयो भने वा शरीरको भाइटल अर्गानमा कुनै समस्या प¥यो भने पनि आँखामा यस्ता समस्याहरु आउन सक्छन् । त्यसैले यसलाई बेवास्ता गर्नु हुँदैन ।

(लेखक कस्मेटोलोजिष्ट, एस्थेटिसियन तथा एरोमा थेरापिस्ट हुनुहुन्छ)

प्रतिक्रिया दिनुहोस्