काठमाडौं । राजधानीमा जारी शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा खुमलटार युथ क्लब पराजित भएको छ । शनिबार भएको खेलमा खुमलटार श्री भगवती क्लबसँग २–१ गोल अन्तरले पराजित भएको हो ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा सुरुवाती अग्रता जोगाउन नसक्दा खुमलटार पराजित भएको हो । खेलको २६ औं मिनेटमा सबिन केसीले गोल गर्दै खुमलटारलाई अग्रता दिलाएका थिए ।
तर, खेलको ४१ औं मिनेटमा डोना थापाले गोल गर्दै श्री भगवतीलाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि खेलको ८४ औं आशिष श्रेष्ठले गोल गर्दै श्री भगवतीलाई २–१ को जित दिलाए ।
जितसँगै श्री भगवतीले १० खेलमा १२ अंक जोडेको छ । लिगको दोस्रो स्थानको खुमलटारले १० खेलमा २२ अंक जोडेको छ ।
त्यस्तै शनिबार नै भएको अर्को खेलमा ब्वाइज युनियन क्लबले जित निकालेको छ । ब्वाइज युनियनले टुसाल युथ क्लबलाई १–० गोल अन्तरले पराजित गरेको हो । एन्फा कम्प्लेक्स सातदोबाटोमा ब्वाइज युनियनलाई जित दिलाउन मिलन लिम्बुले निर्णायक गोल गरे ।
यस जितसँगै ब्वाइजले १० खेलमा १७ अंक जोडेको छ । ब्वाइज चौंथो स्थानमा यथावत रहेको छ ।












