Logo
Logo

संसदको सातौं अधिवेशन आजबाट सुरु हुँदै, के-के छन् कार्यक्रम ?


दृष्टि संवाददाता


काठमाडौं । प्रतिनिधिसभाको सातौं अधिवेशन आज (आइतबार)देखि शुुरु हुुँदैछ । अपरान्ह चार बजे संसद बैठक बस्नेछ । गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरिदिएकी थिइन् ।

सर्वोच्च अदालतले फागुन ११ गते संसद विघटन असंवैधानिक ठहर गर्दै १३ दिनभित्र बैठक राख्न आदेश दिएपछि आजबाट पुनःस्थापित संसदको हिउँदे अधिवेशन सुरु हुँदैछ ।

नेकपा दुई भागमा विभाजित बनेको छ तर औपचारिक रुपमा भने विभाजित भएको छैन । नेकपाका दुवै पक्षले आ–आफ्ना संसदीय दलका नेता तथा प्रमुख सचेतक घोषणा गरिसकेको छ ।  आज बस्ने संसद बैठकलाई निकै चासोका साथ हेरिएको छ । प्रधानमन्त्री ओली भने विश्वासको मत नलिने र अविश्वासको प्रस्ताव आए सामना गर्ने रणनीतिमा छन् ।

यसअघिका अधिवेशन जस्तै पहिलो बैठकमा राष्ट्रपति कार्यालयबाट अधिवेशन आह्वानसम्बन्धी पत्र वाचन हुने छ । त्यसपछि राष्ट्रपति कार्यालयबाटै प्राप्त मन्त्रिपरिषद गठनसम्बन्धी पत्रको व्यहोरा पनि वाचन गरिने कार्यक्रम रहेको छ ।

संसद सचिवालयले आज हुने सम्भावित कार्यक्रमका सूची तयार पारेको छ । बैठकको सुरुवातमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउने छन्। यस्तै राष्ट्रपति कार्यालयबाटै प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्र पनि पढेर सुनाईने कार्यसुची छ । अनि सभामुखको अनुमतिमा सभाको अध्यक्षता गर्ने सदस्य मनोनयन गरिनेछ।

त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा, स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले विभिन्न अध्यादेश पेस गर्ने सम्भावित कार्यसूची छ। यसबीच वर्तमान तथा पूर्वसांसदको निधनप्रति शोक प्रस्ताव पनि पेस गर्नेछ । तर बैठक सुरु हुनुअघिसम्म सम्भावित कार्यक्रम थपघट हुन सक्ने संसद् सचिवालयले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्