Logo
Logo

प्रधानमन्त्री ओलीले लगाए कोरोनाविरुद्धको खोप


दृष्टि संवाददाता


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाईरसविरुद्धको खोप लगाएका छन्। शिक्षण अस्पताल महाराजगञ्जमा आज बिहान पुगेर प्रधानमन्त्री ओलीले खोप लगाएका हुन् । खोप लगाएर खोप केन्द्रबाट निस्किसकेका प्रधानमन्त्री ओलीले खोप लगाएर कोरोना पराजित गर्ने अभियान सफल बनाउन सबैलाई आग्रह समेत गरेका छन् ।

प्रधानमन्त्री ओलीले खोप लगाएपछि दोस्रो चरणको खोप अभियान पनि औपचारिकरुपमा सुरु भएको हो । यसअघि आजै बिहान सशस्त्र प्रहरी अस्पताल बलम्बुमा पुगेर गृहमन्त्री रामबहादुर थापाले पनि खोप लगाएका थिए ।

कोरोना भाइरस (कोभिड–१९) विरुद्धको दोस्रो चरणको खोप अभियान आजदेखि शुभारम्भ भएको हो । दोस्रो चरणको अभियानअन्तर्गत आजदेखि देशभर ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप प्रदान गरिने छ ।

यस्तै हिमाली भेगका १५ जिल्लामा भने ५५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप प्रदान गरिनेछ । दोस्रो चरणमा करिब १६ लाख ज्येष्ठ नागरिकलाई खोप प्रदान गरिने उनले बताए । खोप अभियान छ हजार खोप केन्द्रबाट सञ्चालन हुनेछ ।

यसअघि गत माघ १४ देखि फागुन १० गतेसम्म पहिलो चरणको खोप अभियान सञ्चालन गरिएको थियो । पहिलो चरणमा चार लाख २९ हजारलाई खोप प्रदान गरिएको थियो ।

दोस्रो चरणको खोप अभियान अन्तर्गत सरकारले आजदेखि ६५ वर्ष उमेर पुगेका नागरिकहरुलाई खोप लगाउन शुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्