Logo
Logo

आज महाशिवरात्रि पर्व, देशभरका शिवालयमा घुँइचो


दृष्टि संवाददाता


काठमाडौं । आज महाशिवरात्रि पर्व । आराध्यदेव शिवको विधिपूर्वक पूजा–आराधना गरी बिहीबार देशभर यो पर्व मनाइँदैछ । पशुपतिनाथ सहितका देशभरका शिवालय मन्दिरहरुमा शिवको पूजा आराधना गर्नेहरुको विहानैदेखि भिड लागेको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले शिवको पूजा आराधना गरे सुख शान्ति र परलोकमा सद्गति प्राप्त हुने धार्मिक विश्वास रहेको बताए ।

यही विश्वासका साथ वैदिक सनातन हिन्दू धर्मावलम्बीले बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालय मन्दिरमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्ने गरेका छन् ।

व्रतमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ ।

आजको दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठ–मन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गर्ने चलन छ ।

राष्ट्रिय सांस्कृतिक पर्वका रूपमा रहेको यो दिन आज पशुपतिनाथमा रातको चार प्रहरमा चार प्रकारका पूजाका अतिरिक्त महादीप, अखण्डदीप, लक्ष्यबत्ती तथा दीपोत्सवका साथै लाख बेलपत्र अर्पण गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्