काठमाडौं । नेपाली सेनाले महाशिवरात्रि एवं सेना दिवस बिहीबार मुलुकभर विविध कार्यक्रम गरी मनाउँदैछ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अंगको रुपमा रहेको नेपाली सेनाले आज राष्ट्रपति विद्यादेवी भण्डारी शिवरात्रि तथा सेना दिवसकै अवसरमा सैनिक मञ्च टुँडिखेलमा कार्यक्रम गर्दै छ ।
सो कार्यक्रमा बढाइँ कवाजसहितको विशेष समारोहमा प्रमुख अतिथिका रुपमा सहभागी हुनेछन् । नागरिकको आस्था र भरोसाको केन्द्रबिन्दुका रुपमा रहेको नेपाली सेनाको राष्ट्रपति परमाधिपति हुन् ।
समारोहमा राष्ट्रपतिबाट नेपाल एकीकरणको इतिहास, नेपालको ऐतिहासिक गढी, किल्ला तथा युद्धस्थलको परिचय र सिपाही वार्षिक–२०७७ लोकार्पणका साथै ‘फ्रि–फल जम्प’मा प्रथम र द्वितीय हुनेलाई पुरस्कार वितरण हुने बताइएको छ ।
सेनाका प्रवक्ता सन्तोषवल्लभ पौडेलका अनुसार सैनिक मञ्च, टुँडिखेलमा मुख्य समारोह तथा मुलुकभर सेनाका सबै कार्यालय, विभाग, फर्मेशन, पृतना, बाहिनी, युनिट तथा सव–युनिटले पनि आआफ्नो क्षेत्रमा विभिन्न कार्यक्रम गरी सेना दिवस भव्यताका साथ मनाउने छन् ।
नेपाली सेनाले दुई दशकअघिदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । सैनिक मञ्चमा परेड (शस्त्राभ्यास) तथा तोप बढाइँ, कवाजलगायत विविध सांस्कृतिक कार्यक्रम सञ्चालन हुनेछन् ।
समारोहमा राइफल तथा तोपबाट बढाइँ कवाज, त्रिभुवन आर्मी क्लबका खेलाडी र राष्ट्रिय सेवा दलका क्याडेटलगायत विभिन्न युनिटबाट मार्चपाष्ट, बख्तरबन्द गाडी, हतियार र इक्युप्मेन्ट प्रदर्शन, ब्याण्ड डिस्प्ले, हेलिकप्टरबाट नेपालको राष्ट्रिय झण्डा र सेना दिवस–२०७७ लेखिएको ब्यानर प्रदर्शनी साथै पुष्पवृष्टि गरिने कार्यक्रम रहेको छ ।














