Logo
Logo

सरकारी जग्गा हडप्ने सञ्जालको खोजि हुँदै, पूर्वप्रधानमन्त्री, मन्त्री र सचिव नै भ्रष्टाचारमा तानिन सक्ने


दृष्टि संवाददाता


काठमाडौं । सरकारले देशभरमा भूमाफियाबाट हडपिएका सरकारी तथा सार्वजनिक जग्गाको खोजतलास गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले दिएको प्रतिवेदन कार्यान्वयनमा ल्याए धेरै उच्च पदस्थ सरकारी अधिकारी र सयौं भूमाफिया भ्रष्टाचारमा तानिने भएका छन् ।

भूमाफियासँगको मिलिमतोमा यसरी तानिनेमा केही पूर्वप्रधानमन्त्री, मन्त्री तथा सचिवसमेत रहनेछन् । सो प्रतिवेदन कार्यान्वयनमा आउनासाथ सरकारी जग्गा हडप्नेको सञ्जालसमेत क्षतविक्षत हुने बताइएको छ ।

सरकारले पूर्वन्यायाधीश मोहनरमण भट्टराईको अध्यक्षतामा २०७६ सालमा सरकारी, सार्वजनिक र गुठी जग्गामा भएको अनियमितता सम्बन्धमा छानबिन गर्न जाँचबुझ आयोग गठन गरेको थियो । सो आयोगले झन्डै ढेड वर्षसम्म अनुसन्धान गरी देशका ३३ स्थानका ८ हजार रोपनीभन्दा बढी सार्वजनिक जग्गा भूमाफियाद्वारा हडपिएको ठहर गरेको छ ।

आयोगले त्यसरी हडपिएका सरकारी जग्गा सरकारकै नाममा फिर्ता गर्न र हडप्ने कार्यमा संलग्न पदाधिकारी तथा भूमाफियालाई अख्तियारमार्फत कारबाही गरी कानुनी दायरामा ल्याउन सरकारसमक्ष सिफारिस गरिसकेको छ ।

आयोगले सो प्रतिवेदन गत माघको अन्तिम साता प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको थियो । सो अवसरमा प्रधानमन्त्री ओलीले प्रतिवेदनलाई छिटोभन्दा छिटो कार्यान्वयनमा ल्याइने प्रतिबद्धता जनाएका थिए । यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्