Logo
Logo

एक वर्षमै पच्चीस केजी तौल घटाएँ– अनिता बस्नेत, चरित्र अभिनेत्री


दृष्टि संवाददाता


‘मास्र्टनी’ यति भनेपछि प्राय दर्शकलाई याद भयो कि ? यदि भएन भने उनी हुन्, ‘मेरी बास्सै’का चर्चित पात्र (हाल हल्का रमाइलो) राजु मास्टरकी श्रीमती अर्थात अनिता बस्नेत । हास्य टेलिफिल्म ‘मेरी बास्सै’मा मास्र्टसकी श्रीमती ‘मास्र्टनी’को भूमिकामा देखिएपछि चर्चित बनेकी अनितालाई रियल लुक्समा मोडलका रुपमा चिन्छन् । मास्र्टनीको गेटअपमा थोरैले मात्र चिन्ने गरेका छन् उनलाई । डेढ सयभन्दा बढी म्युजिक भिडियोमा मोडलिङ गरेपछि अभिनयमा प्रवेश गरेकी अनिता भन्छिन्, ‘कलाकार भएपछि सबै किसिमको भूमिका गर्न सक्नुपर्छ ।’ ओखलढुंगाकी अनिता पत्रकारिताकी विद्यार्थी हुन् । पत्रकारितामा स्नातक गरेकी अनिता भन्छिन्, ‘कलाकार नभएको भए म पनि पत्रकारितामै हुन्थेँ, दुई वर्ष पत्रकारिता पनि गरेँ ।’ ‘मेरी बास्सै’, हर्के हवल्दार’, ‘क्या जमाना आ’, ‘हल्का रमाइलो’जस्ता चर्चित हास्य टेलिचलचित्रहरुमा अभिनय गरिसकेकी अनिता चाँडै फिचर फिल्ममा देखिने भएकी छन् । हाल ‘हामी यस्तै हो’ सिरियल र म्युजिक भिडियोहरुमा व्यस्त रहेकी चरित्र अभिनेत्री अनिता बस्नेतसँग एमपी सुब्बाको जम्काभेट :

कलाकारिता क्षेत्रमा कहिलेदेखि हुुनुहुन्छ ?

विगत नौ वर्ष (२०६८ साल)देखि कलाकारिता गर्दै आएकी हुँ । अभिनयमा आउनुभन्दा अगाडि मोडलिङ गर्थे ।

कलाकारिताप्रति कसरी आकर्षित हुनुभयो ?

कलाकारिता गर्ने सानैबाट रुचि थियो । अलि बुझ्ने भएपछि डान्स सिक्न र सिकाउन थालेँ । त्यही क्रममा म्युजिक भिडियोमा मोडलिङ गर्न सुरु गरेकी हुँ ।

मोडलिङबाट अभिनयमा लाग्नुभएको हो ?

हजुर, टेलिफिल्ममा अभिनय गर्नुअघि डेढ सयभन्दा बढी म्युजिक भिडियोमा मोडलिङ गरिसकेकी थिएँ । अहिले पनि मोडलिङ गर्दै आएकी छु । तर, अभिनयमा अलिक व्यस्त भएकी छु ।

मोडलिङ गर्दागर्दै हास्य अभिनयमा कसरी प्रवेश गर्नुभयो नि ?

म एक जना कलाकार हुँ । कलाकारले सबै प्रकारका अभिनय गर्नु सक्नुपर्छ । म हास्य अभिनयबाहेक अरु पनि गर्छु ।

तपाइँ निर्देशन पनि गर्नुहुन्छ होइन त ?

गर्छु । मैले आफ्नै लेखन तथा निर्देशनमा ‘लौ बर्वाद’ नामक टेलिफिल्म बनेको छ । तर, अहिले निर्देशनलाई चाहिँ ग्याप गरेकी छु ।

तपाइँ अभिनीत पहिलो सिरियल कुन हो ?

मेरी बास्सै नै हो । मेरी बास्सैले अभिनयमा व्यस्त बनायो ।

‘मेरी बास्सै’मा तपाइँको क्यारेक्टर ‘मास्र्टनी’ लोकप्रिय छ । यो क्यारेक्टर कसले बनाएको हो ?

राजु मास्टर र बल्छी धु्रवेले नै बनाएको हो । सुरुमा यो भूमिका यति रुचाइन्छ भन्ने लागेको थिएन । तर, मास्र्टनी सोचेभन्न्दा बढी रुचाइयो ।

मोडलिङमा दर्शकले रुचाइरहेकै बेला हाँस्यरसतिर लाग्दा के सोच्नुभएको थियो ?

थोरै कन्फ्युज थिएँ । तैपनि गर्न सक्छु भन्ने आत्मविश्वास थियो । मोडलिङ पनि अभिनय नै हो । त्यसैले पनि ममा कन्फिडेन्ट थियो ।

‘मास्र्टनी’को भूमिकामा मोटी देखिनुभएको छ । अहिले ज्यान घटाउनुभएको हो ?

हो, मैले एक वर्षमा २५ केजी वजन घटाएँ । त्यसका लागि मिहिनेत पनि गरेकी छु ।

वर्षदिनमा २५ केजी वजन घटाउने कस्तो मिहिनेत गर्नुहुन्छ ?

म दैनिक जीम र जुम्बा जान्छु । फुटवल पनि खेल्छु । अनि हप्ताको दुई दिन फास्टिङ राखेकी छु ।

मोटी मास्टर्नीलाई स्लिम देख्दा दर्शकले के भन्छन् ?

मोटी भइञ्जेल ज्यान घटाउ भन्थे, अहिलेचाहिँ मोटी नै सुहाएको थियो भन्छन् । तर, अरुले जे भनेपनि आफूखुसी जिउने हो । मलाई मोटीभन्दा अहिले नै कन्फाटेवल लागेको छ ।

फिचर फिल्मतिर जाने सोच छैन ?

चाँडै फिचर फिल्म गर्दैछु । फिल्मको नामचाहिँ अहिले नखुलौँ, कुरा फिक्स भइसकेको छ । एग्रीमेन्टमात्र हुन बाँकी छ । सायद चाँडै फ्लोरमा जान्छ होला ।

रियल लाइफमा मास्र्टनी बन्ने सोच्नुभएको छैन ?

तत्कालचाहिँ त्यस्तो केही सोचेकी छैन । अब दुई चार वर्षपछि सोच्नुपर्ला ।

अफेयर्स त होला नि ?

अफेयर्स पनि छैन । म एकदमै सिंगल हुँ । अहिले काममै व्यस्त छु । सो अफेयर्स चलाउने समय पनि छैन ।

 

प्रतिक्रिया दिनुहोस्