Logo
Logo

प्रदेश १ का आर्थिक मामिलामन्त्रीको सांसद पद चट, मन्त्री पद पनि धरापमा


दृष्टि संवाददाता


विराटनगर । नेकपा माओवादी केन्द्र छोडेर एमाले प्रवेश गरी प्रदेश १ सरकारको आर्थिक मामिला तथा योजना मन्त्री बनेका टंक आङ्बुहाङलाई नेकपा माओवादी केन्द्रले सांसद पदबाट कारवाही गरेको छ ।

सांसदबाट हटाइएको जानकारी आजै प्रदेशसभालाई दिने तयारी गरिएको नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता इन्द्र आङ्बोले जानकारी दिए ।

एमाले प्रवेश गरेर आर्थिक मामिला तथा योजनामन्त्री बनेका आङ्बुहाङलाई चैत १७ गते नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलले २४ घण्टे स्पष्टीकरण सोधेको थियो । उनले स्पष्टीकरण नबुझाएपछि पार्टीले पदमुक्त गरेको हो । दल त्याग गर्दै मन्त्री बनेका आङ्बुहाङ ६ महिना मात्रै मन्त्री हुनेछन् । गैर सांसदले ६ महिना मात्रै मन्त्री बन्न पाउने व्यवस्था रहेको छ ।

प्रदेश १ सरकार गठन हुने बेलामा आङबुहाङले धेरै ठाउँमा आफ्नै नेतृत्वमा सरकारमा सहभागी हुने भन्दै भाषण गरेका थिए । तर, पार्टीले इन्द्र आङ्बोको नेतृत्वमा सहभागी हुने निर्णय गरेपछि असन्तुष्ट बनेका आङबुहाङ सर्वोच्चले नेकपा खारेज गरेपछि एमाले प्रवेश गरेका हुन् ।

एमाले प्रवेश गरेपछि दृष्टिन्यूजसँग कुरा गर्दै आफू पदको लागि एमाले प्रवेश नगरेको प्रतिकृया दिएका आङ्बुहाङ तीन दिनपछि प्रदेश १ सरकारको मन्त्री बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्