Logo
Logo

दृष्टिका १० हेडलाइन्स् : कोरोना बिर्सिएर नयाँ वर्ष मनाइएकोदेखि कोरोनाको ग्राफ फेरि उकालो लागेकोसम्म


दृष्टि संवाददाता


हेडलाइन्स् :

१. कोरोनाको कहर बिर्सिएर विक्रम संवत्को नयाँ वर्ष भव्य रूपमा मनाइँदै, वर्षारम्भमा पाँच लाख भक्तजनद्वारा पशुपति दर्शन, नयाँ वर्षको अवसरमा भक्तपुरमा बिस्काः जात्रा मनाइयो, मैथिल समुदायका साथै थारु, राजवंशी, गनगाई र सन्थाल आदिवासी जनजातिको सरुवा पर्व पनि मनाइयो ।

२. नयाँ वर्षको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा राष्ट्रका नाममा सम्बोधन, वर्ष २०७७ निरर्थक नरहेको दावी, कोभिड–१९बाट नागरिकको जीवन रक्षा गर्ने सरकारको पहिलो कर्तव्य भएको भनाइ, पुनर्निर्माणमा असाधारण काम गर्दै जनतामा समृद्धिको आशा जगाइएको प्रधानमन्त्रीको दावी, कोरोना भाइरसको संक्रमणको जोखिम कम गर्न स्वास्थ्य मापदण्डको पूर्ण पालना भए पुनः लकडाउन नहुने प्रधानमन्त्रीको प्रतिबद्धता, कोरोना भाइरसविरुद्धको खोप लगाउने कामलाई निरन्तरता दिइने भनाइ ।

३. कोरोना भाइरसको संक्रमणको ग्राफ उकालो लाग्दै, २४ घण्टामा ५ सय ८० मा संक्रमण पुष्टि, थप तीन जनाको मृत्यु, भेरी अस्पतालको कोभिड वार्ड भरिएसँगै नयाँ संक्रमितको भर्ना बन्द, वीरगन्ज नर्सिङ क्याम्पसका २२ छात्रालाई कोरोना संक्रमण पुष्टि, भारतमा पत्ता लागेको र अहिलेसम्म ‘भेरियन्ट अफ कन्सर्न’ भनेर घोषणा नभएको ‘डबल म्युटेन्ट’ पनि नेपालमा पुष्टि, संकमण फैलिनुमा युके भेरियन्ट बढी जिम्मेवार रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको भनाइ ।

४. नयाँ सरकार छिट्टै परिवर्तन हुने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दोहो¥याए, माधव–झलनाथ समूहले एमालेलाई ओली प्रवृत्तिबाट हटाउन प्रचण्डको शुभकामना, केपी ओलीका कारण एमाले एक हुन नसक्ने टिप्पणी, पार्टी एकता भएपछि पुनः कम्युनिष्टक शक्तिलाई एकताबद्ध गरेर लैजान सकिने तर्क ।

५. केही व्यक्तिले प्रधानमन्त्रीको पद नपाएपछि ‘प्रतिगमन’को हल्ला फिजाएको प्रधानमन्त्री केपी शर्मा ओलीको आरोप, प्राप्त परिवर्तन र उपलब्धी गुमेमा, गणतन्त्र गुमेमा, व्यवस्था सञ्चालन गर्ने संविधान खोसिएमा मात्रै प्रतिगमन भनिने प्रधानमन्त्रीको दावी, प्रतिगमनको हल्ला चलाउनेहरूलाई प्रधानमन्त्रीद्वारा वामपन्थीका नाममा दक्षिणपन्थीको संज्ञा, कार्यक्रममा प्रधानमन्त्रीद्वारा मुलुकमा लोकतान्त्रिक आन्दोलनमा सरिक भएर ज्यानको आहुति दिने व्यक्तिको सम्मानमा ‘लोकतान्त्रिक योद्धा सम्मान’ कार्यक्रमको प्रारम्भ ।

६. राष्ट्रिय जनमोर्चाद्वारा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई दिएको समर्थन फिर्ता, सरकारविरुद्ध अविश्वासको प्रस्ताव आएमा प्रस्तावको पक्षमा उभिने पार्टीको निर्णय, समर्थन फिर्ता नलिएको जनमोर्चाका केन्द्रीय सदस्यको तर्क, प्रस्ताव फिर्ता लिएसँगै गण्डकी प्रदेश सरकार अल्पमतमा, मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएमामा नेपलीको नेतृत्वमा नयाँ सरकार गठन गरिने कांग्रेसको तर्क ।

७. कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको शुक्रबार प्रदेशसभामा विश्वासको मत लिने तयारी, मुख्यमन्त्रीद्वारा प्रदेशसभा सचिवालयलाई पत्राचार गर्दै नेपालको संविधानको धारा १८८ को (२) बमोजिम विश्वासको मत लिने प्रयोजनका लागि आवश्यक व्यवस्था मिलाउन आग्रह, दुई वा दुईभन्दा बढी दलको समर्थनमा नियुक्त मुख्यमन्त्रीलाई समर्थन गरेको दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था भएअनुसार विश्वासको मत लिन लागिएको तर्क, समय शुक्रबार सकिँदै ।

८. राष्ट्र बैंकले सार्वजनिक गरेको माघ मसान्तसम्मको तथ्याङ्कअनुसार कनेक्ट आईपीएस, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्यूआर स्क्यान र मोबाइल वालेटमार्फत फागुनमा मात्र करिब डेढ खर्ब बढीको कारोबार, क्यूआर कोडमार्फत फागुन महिनामा ३४ करोड बढीको कारोबार, बैशाख १ देखि लागु हुने गरी सिभिल बैंक, कामना सेवा विकास बैंक र नेपाल बङ्गलादेश बैंकले एकै साथ तोक नयाँ ब्याजदर ।

९. त्रिकोणात्मक क्रिकेट सिरिजका लागि नेपाली टोलीको घोषणा, आशिफ र साहब पहिलो पटक टी–२० टिममा, राष्ट्रिय क्रिकेट टिमका जर्सीमाथि लापरवाही भएको क्यानका बोर्ड सदस्यको आरोप, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रमेशकुमार सिलवाल, राखेप अन्तर्गत प्रशासन विभागका प्रमुख कुलबहादुर थापा र ओलम्पियन तेक्वान्दोकी संगिना वैद्य नेपाल सरकारले प्रदान गर्ने पदकबाट विभुषित, भारतमा जारी १४ औं संस्करणको इण्डियन प्रिमियर लिग ( आइपीएल)मा सनराइज हैदराबाद र रोयल चेलेन्जर्स बेंग्लोर भिड्दै ।

१०.र, भारतमा संक्रमितको संख्यामा रेकर्ड, एकैदिन १ लाख ८५ हजार संक्रमित, भारतीय मुख्यमन्त्री योगी आदित्यनाथ र पूर्व मुख्यमन्त्री अखिलेश यादवलाई कोरोना भाइरसको संक्रमण पुष्टि, संक्रमण बढेपछि महाराष्ट्रमा १५ दिनका लागि कर्फयु, भारतमा कक्षा १० को परीक्षा रद्द, १२ को स्थगित, सेप्टेम्बर ११ सम्म अमेरिकी सेनाले अफगानीस्तान छाडिसक्ने घोषणा ।

प्रतिक्रिया दिनुहोस्