Logo
Logo

नेपालमा देखिएकाे डबल म्युटन्ट भेरिअन्ट के हो ?


दृष्टि संवाददाता


काठमाडौं । नेपालमा पनि कोरोनाभाइरसको ‘डबल म्यूटन्ट भेरिअन्ट’ पुष्टि भएपछि स्वास्थ्यविद् तथा भाइरोलजिस्टले चिन्ता व्यक्त गरेका छन् । यही गएको बुधबार इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशकले भक्तपुरका एक पुरुषमा दुई पटक उत्परिवर्तन भएको कोरोनाभाइरस भेटिएको बताएका थिए ।


कोरोनाभाइरस संक्रमण देखिएका पाँचवटा नमुना हङकङस्थित एक प्रयोगशालामा पठाइएकोमा एउटामा ‘डबल म्यूटन्ट भेरिअन्ट’ पुष्टि महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलले बताएका छन् । त्यसबाहेक हालसम्म नेपालमा ‘यूके भेरिअन्ट’ १५८ जनामा पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

के हो डबल म्युटन्ट भेरिअन्ट ?
भाइरसविज्ञ डा. लुना भट्ट शर्माका अनुसार अरू दुईवटा भेरिअन्टमा देखिसकिएको म्यूटेशन अर्थात् उत्परिवर्तन एउटैमा देखिँदा त्यो उत्परिवर्तित प्रकारलाई डबल म्यूटन्ट भेरिअन्ट भनिन्छ । उनले बिबिसी नेपालीलाई भनेकी छन्, ‘यसले भाइरसलाई फाइदा पु¥याउने र मान्छेलाई हानि पु¥याउने हुन्छ ।’

विश्वका कैयौँ देशमा अहिले कोरोनाभाइरसका विभिन्न भेरिअन्ट अर्थात् उत्परिवर्तित प्रकारहरू देखापरिरहेको छ । छिमेकी मुलुक भारतमै यूके भेरिअन्ट र डबल म्यूटन्ट भेरिअन्टसहित कोरोनाभाइरसका विभिन्न प्रकार फैलिएको पुष्टि भइसकेको छ । नयाँ भेरिअन्टहरूको प्रादुर्भाव र आगमनसँगै त्यहाँ दैनिक संक्रमित हुने र मृत्यु हुनेको संख्या बढ्दोछ ।

पछिल्लो समय नेपालमा संक्रमित संख्या बढिरहँदा नयाँ भेरिअन्टको उपस्थिति चिन्ताको विषय भएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका प्रमुख कन्सल्ट्यान्ट डा. अनुप बास्तोला बताउँछन् ।

‘नेपालमा मानिसहरूको भिडभाड तथा ठूल्ठूला जमघटहरू जारी रहेका बेला नयाँ भेरिअन्टहरू देखिनु आगोमा घ्यू थपिए सरह हो’ उनले बीबीसीन्यूज नेपालीलाई भनेका छन् । उनका अनुसार यसले एन्टिबडी भनिने प्रतिरोधी प्रणालीलाई छल्ने र हाम्रो शरीरभित्र हुने टी–सेलले समेत यसलाई नचिन्ने भएकोले यो झन् खतरनाक छ ।

यसको अर्थ कोरोनाभाइरसबाट संक्रमित भई निको भएर एन्टिबडी बनिसकेका र खोप लगाइसकेका मानिस पनि फेरि संक्रमण हुने जोखिमबाट मुक्त नभएको विज्ञहरूको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्