Logo
Logo
समाचार टिप्पणी

मारवाडीको घरमा एमाले मुख्यालय


दृष्टि संवाददाता


काठमाडौं । ‘कम्युनिष्ट नेता कुहिएपछि अण्डाभन्दा बढी गन्हाउँछ । त्यसैले कुहिएको अण्डालाई जमिनमा गाड्नुपर्छ ।’ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसो भनेका थिए । प्रचण्डले भाषणमा कसैको नाम उच्चारण नगरेर यी शब्द बोले पनि सुन्नेहरुले कुहिएको ‘अण्डा’ भनेको केपी शर्मा ओली नै हुन् भन्ने बुझे ।

राजनीतिक यात्रामा चौध वर्ष जेल बसेको, सादा जीवन उच्च विचार अँगालेको, निष्कलंक, फलामे अनुशासनमा बाँधिएको एउटा आदर्श नेता पदमा पुगेपछि कसरी बिग्रन्छन् भन्ने कुराको उदाहरण हो त्यो शब्द ।

भन्न त, ओली पनि खप्पिस छन् । आफूलाई कुहिएको अण्डासँग तुलना गर्ने प्रचण्डलाई ओलीले एउटा कार्यक्रममार्फत ‘किर्ना’सँग तुलना गरे । उनले भनेको ‘किर्ना’ त भैँसी छाडेर गइहाले । तर, उनी अझै थुप्रै ‘किर्ना’ पालेर बसेको कुरा उनलाई पत्तो छैन ।

किनभने, सत्ता उन्मादमा पुष्पलालले स्थापना गरेको जननेता मदन भण्डारीले यहाँसम्म डोहोर्याएर ल्याएको कम्युनिष्ट आन्दोलनमाथि बालुवाटारमा बसेर उनले बन्चरो प्रहार गरेका छन् ।

बालुवाटार छाड्ने बेला पार्टी कार्यालय सार्नुको हतारो थिएन । हतारो त विभाजित पार्टी जोड्नु थिया । तर, बिडम्वना सिंगो एमाले होइन, सानो गुटको बैठक बस्न ओली मारवाडीको घर रोज्न पुगे ।

पचासौं वर्षदेखि कम्युनिष्ट आन्दोलनमा होमिएका आफ्नै सहकर्मीलाई पार्टीबाट निष्काशन गरेका छन् । लाखौं कार्यकर्ताहरुको रगत पसिनाबाट बनेको पार्टी र सरकारलाई बीचमै ढालेर दलाल पूँजीपति र साम्राज्यवादीहरुको पाऊमा नेकपा एमालेलाई अर्पण गरेका छन् ।

पहिला एमालेका नेता कार्यकर्ता बन्न विचार, सिद्धान्त, आदर्श र अनुशासन पहिलो प्राथमिकतामा पथ्र्यो । अब एमाले बन्न मोतीलाल दुगड, राज्यलक्ष्मी गोल्छा र किशोर प्रधानहरु भए पुग्छ । केही साता अगाडि राजस्वमारा व्यापारीहरुलाई पार्टी प्रवेश गराएर बदनाम भएका ओलीले हुँदाहुँदा एमाले पार्टी कार्यालय थापाथलीस्थित सञ्जय अग्रवालको घरमा सार्ने भएका छन् ।

बिनाभाडा उक्त कार्यालयको चाँजोपाँजो प्रधानमन्त्रीका प्रमुख आर्थिक सल्लाहकार मोतीलाल दुगडले मिलाइदिएका हुन् । दुगड आफैँ पनि विवादास्पद व्यापारी हुन् । ओलीका नयाँ घरबेटी अग्रवाल अर्बौको विद्युत् महसुल नतिर्ने अर्घाखाँची सिमेन्टका मालिक हुन् ।

त्यसो त चौबिसै घण्टा बालुवाटार बस्ने ओलीलाई पार्टी कार्यालय चाहिएकै थिएन । यती एयरको मालिक सोनाम शेर्पाको धुम्वाराहीस्थित पासाङल्हामु शेर्पाको पर्वतारोहण ट्रेनिङ सेन्टरमा पनि ओली विरलै जान्थे । पार्टीका सम्पूर्ण बैठक बालुवाटारमा बस्थ्यो, बस्छ । अहिले बालुवाटार छाड्ने बेला पार्टी कार्यालय सार्नुको हतारो थिएन । हतारो त विभाजित पार्टी जोड्नु थिया । तर, बिडम्वना सिंगो एमाले होइन, सानो गुटको बैठक बस्न ओली मारवाडीको घर रोज्न पुगे ।

यो उनको वौद्धिक दिवालियापन मात्र होइन, कम्युनिष्ट विचार, आदर्श र नैतिकताबाट च्यूत भएको संकेत पनि हो । अब माधव नेपालहरुले बल्खुको पार्टी कार्यालय पुनःनिर्माणमा जुट्नुपर्छ । बल्खुको जग्गामा टिनको छाप्रो राखेर पार्टी कार्यालय सञ्चालन गर्नुपर्छ । किनभने, ओलीले खरानी बनाएको पार्टीमा नयाँ जग हाल्ने जिम्मेवारी इतिहासले माधव नेपाल, वामदेव गौतम, झलनाथ खनालहरुलाई सुम्पिएको छ । माक्र्सवादबाट मारवाडीवादमा रुपान्तरित एमालेलाई ‘भेन्टिलेटर’बाट बाहिर निकाल्न पनि लाखौं एमाले कार्यकर्ताहरु आ–आफ्नो ठाउँबाट जुट्नुपर्ने बेला आएको छ ।

प्रतिक्रिया दिनुहोस्