Logo
Logo

किन उठेन सीमाको मुद्दा ? किन हटाइयो ? (भिडियोसहित)


0
Shares

काठमाडौं । भारत भ्रमणको चर्चा सुरु भएदेखि नै एउटा प्रश्न थियो– बालेनले मोदीसँग सीमा विवादको कुरा कसरी उठाउलान् ? किनभने, बालेनको राजनीतिक छवि नै पुराना राजनीतिक दलभन्दा फरक, राष्ट्रिय स्वार्थमा सम्झौता नगर्ने र परम्परागत शैली तोड्ने नेताका रूपमा बनेको थियो । त्यसैले पनि उनको पहिलो राजकीय भारत भ्रमणलाई धेरैले चासोका साथ हेरेका थिए । तर, भ्रमणको तयारी हुँदै जाँदा सीमा विवादको विषय विस्तारै पछाडि धकेलियो ।

सुरुमा छलफलमा राख्ने तयारी भएको यो मुद्दा अन्तिम समयमा औपचारिक एजेन्डाबाटै हटाइयो । प्रधानमन्त्री बालेनले नै विवादित विषय भ्रमणको एजेन्डामा नराख्न निर्देशन दिएपछि उक्त विषय हटाइएको बताइएको छ । सीमा विवाद उठाउँदा समग्र भ्रमण प्रभावित हुन सक्ने आकलनपछि तत्कालका लागि यो विषय प्राथमिकतामा नराखिएको बताइएको छ । अर्थात्, सीमा विवाद उठाउने कि नउठाउने भन्ने विषयमा तयारी नपुगेको होइन ।

दुई देशबीच छलफलको तयारीसमेत भएको थियो । तर, अन्तिम समयमा प्रधानमन्त्रीकै तहबाट यो विषय हटाइएको समाचार बाहिरियो । यसले केही गम्भीर प्रश्न उब्जाएको छ– आखिर किन हटाइयो सीमा विवादको विषय ? के भारतसँगको सम्बन्ध बिग्रेला भन्ने डरले हो ? कि पहिलो भ्रमणमै विवादित विषय उठाएर अन्य सहकार्यका ढोका बन्द गर्न नचाहेका हुन् ? अथवा भारतसँगको सम्बन्धलाई नयाँ ढङ्गले अघि बढाउन पहिले विश्वासको वातावरण बनाउने र सीमा विवादलाई पछि छलफल गर्ने रणनीति अपनाइएको हो ?

सीमा विवाद कुनै सरकारको व्यक्तिगत राजनीतिक एजेन्डा होइन । यो सरकार परिवर्तनसँगै बदलिने विषय पनि होइन । यो नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय हितसँग जोडिएको मुद्दा हो । नेपाल र भारतबीचको सीमा विवादको कुरा गर्दा सबैभन्दा पहिले आउँछ– कालापानी, लिपुलेक र लिम्पियाधुरा । नेपालले यी क्षेत्रलाई आफ्नो भूभाग मान्दै आएको छ । सन् २०२० मा नेपालले यी क्षेत्र समेटेर नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी ग¥यो । संसद्ले संविधान संशोधन गरेर नक्सालाई संविधानको अनुसूचीमै समेट्यो । तर भारतले नेपालको दाबी स्वीकार गरेको छैन । सीमा विवाद समाधानका लागि दुई देशबीच ठोस सहमति हुन सकेको छैन । सुस्ता क्षेत्रको विवाद पनि उस्तै छ ।

यति मात्रै होइन, गत वैशाखमा भारत र चीनले नेपाली दाबी रहेको लिपुलेक हुँदै कैलाश मानसरोवर यात्रा सञ्चालन गर्ने विषय अघि बढाएपछि यो मुद्दा फेरि चर्चामा आएको थियो । नेपालको असन्तुष्टिबीच पनि भारत र चीनबीच यस विषयमा सहमति अघि बढ्नु आफैँमा गम्भीर विषय हो । यस्तो अवस्थामा प्रधानमन्त्रीको भारत भ्रमणलाई सीमा विवादमा संवाद अघि बढाउने अवसरका रूपमा हेरिनु स्वाभाविक थियो । तर, बालेनको भ्रमणमा यो विषय नै औपचारिक छलफलको प्राथमिकतामा परेन । प्रधानमन्त्री बालेन आफैँले यसअघि सीमा विवादबारे फरक धारणा राखेका थिए । गत जेठ १७ गते संसद्मा बोल्दै उनले भारतले नेपालको मात्रै होइन, नेपालले पनि भारतको भूमि मिचेको हुन सक्ने बताएका थिए ।

त्यसभन्दा पहिले काठमाडौं महानगरपालिकाको मेयर हुँदा पनि बालेनले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका थिए । भारतको नयाँ संसद् भवनमा अखण्ड भारतको नक्सा राखिएपछि उनले त्यसको जवाफमा ग्रेटर नेपालको नक्सा राखेका थिए । तर, मेयर हुँदा कार्यकक्षमा राखिएको नक्सा र प्रधानमन्त्री हुँदा भारतसँगको टेबलमा राखिने मुद्दा एउटै कुरा होइनन् । नाराभन्दा कूटनीति फरक हुन्छ । भावनाभन्दा तथ्य र रणनीति महत्त्वपूर्ण हुन्छ । तर, कूटनीति भनेको आफ्ना मुद्दा नै लुकाउनु पनि होइन ।

भारतसँग नेपालको सम्बन्ध सामान्य छैन । दुई देशबीच रोटीबेटीको साइनो छ । व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पूर्वाधार र खुला सीमाका कारण भारतसँग नेपालको बहुआयामिक सम्बन्ध छ । भारत नेपालको सबैभन्दा ठूलो व्यापार साझेदार पनि हो । नेपालको अर्थतन्त्रदेखि जनजीवनसम्मका धेरै पक्ष भारतसँग जोडिएका छन् । त्यसैले भारतसँग सम्बन्ध सुधार्नु नेपालको आवश्यकता हो ।

त्यही कारण बालेनको भ्रमणमा ऊर्जा, पूर्वाधार, व्यापार, पर्यटन, प्रविधि, शिक्षा, स्वास्थ्य र कृषिजस्ता विषयले प्राथमिकता पाउनु स्वाभाविक हो । तर, सहकार्यका नयाँ ढोका खोल्ने नाममा विवादका विषयलाई सधैँ पन्छाएर राख्ने हो भने त्यसले दुई देशको सम्बन्ध बलियो बनाउँछ कि झन् असन्तुलित ?

भारत भ्रमणअघि नै प्रतिपक्षी दलहरूले प्रधानमन्त्रीलाई राष्ट्रिय सहमतिका आधारमा भ्रमणको एजेन्डा तय गर्न सुझाव दिएका थिए । सीमा विवाद, सन्धि–सम्झौताको पुनरावलोकन, व्यापार घाटा, जलस्रोत र हवाई रुटजस्ता विषयलाई राष्ट्रिय प्राथमिकतामा राख्नुपर्ने उनीहरूको जोड थियो ।
बाइटः शंकर पोखरेल, महासचिव, नेकपा एमाले

राजनीतिक दलहरूले मात्रै होइन, सीमाविद् र परराष्ट्र मामिलाका जानकारहरूले समेत प्रधानमन्त्री बालेनलाई भारत भ्रमणका क्रममा सीमा विवादको विषय उठाउन सुझाव दिएका थिए । अर्थात्, यो विषय कुनै एउटा दलको मात्रै चासो थिएन । राष्ट्रिय सरोकारकै मुद्दा थियो । यसको अर्थ सीमा विवाद तत्कालै समाधान भइहाल्नुपर्छ भन्ने होइन । भारतले नेपालको दाबी नै स्वीकार नगरेको अवस्थामा एकैपटक वार्ता गरेर सबै समस्या समाधान हुन्छ भन्ने अपेक्षा पनि व्यावहारिक हुँदैन । तर, कम्तीमा विवादलाई स्वीकार गर्दै संवाद अघि बढाउने, पुराना सहमति कार्यान्वयन गर्ने र समाधानका लागि बनेका संयन्त्रलाई सक्रिय बनाउने पहल त गर्न सकिन्थ्यो नि !

सन् २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा कालापानी र सुस्तासहितका सीमा विवाद समाधानका लागि परराष्ट्र सचिवस्तरीय संयन्त्र बनाउने सहमति भएको थियो । तर, त्यो संयन्त्रले अपेक्षित गति लिन सकेको छैन । बालेनले चाहेमा पुरानै संयन्त्रलाई सक्रिय बनाउने, बैठकको मिति तय गर्ने र विवाद समाधानका लागि स्पष्ट कार्ययोजना बनाउने विषयमा छलफल गर्न सक्थे । त्यसका लागि भारतसँग सम्बन्ध बिगार्नुपर्ने पनि थिएन । तर, बालेन सरकारले यो अवसर उपयोग गर्न सकेन ।

अर्कोतर्फ, प्रधानमन्त्री बालेनले सीमा विवादलाई औपचारिक एजेन्डामा नराखे पनि मोदीसँगको व्यक्तिगत भेटवार्तामा यो विषय उठाए कि उठाएनन् भन्ने कुरा पनि उत्तिकै महत्त्वपूर्ण छ । किनभने, औपचारिक एजेन्डामा नपर्नु र वार्तामै विषय नउठ्नु एउटै कुरा होइन । त्यसैले सरकारले भ्रमणपछि यसबारे स्पष्ट जानकारी दिनुपर्छ ।

निश्चय पनि दुई देशबीचको सम्बन्ध सुधार्ने, आर्थिक सहकार्य बढाउने र नयाँ परियोजनाका ढोका खोल्ने हिसाबले भ्रमणका उपलब्धि महत्त्वपूर्ण हुन सक्छन् । तर, कूटनीतिक भ्रमणको सफलता सम्झौताको संख्या गनेर मात्रै मापन हुँदैन । राष्ट्रिय हितका मुद्दा कति प्रभावकारी ढङ्गले उठाइए भन्ने कुराले पनि भ्रमणको सफलता निर्धारण गर्छ । त्यसैले प्रश्न उठ्छ– भारतसँगको सम्बन्ध सुधार्ने नाममा नेपालले आफ्नै राष्ट्रिय मुद्दालाई पछाडि छाडेको त होइन ?

किनभने, प्रधानमन्त्री फेरिन्छन् । सरकार फेरिन्छ । तर, कालापानी, लिपुलेक, लिम्पियाधुरा र सुस्ताको मुद्दा कुनै एउटा प्रधानमन्त्रीको कार्यकालसँगै सकिने विषय होइन । यी नेपालको सार्वभौमिकता र राष्ट्रिय स्वाभिमानसँग जोडिएका मुद्दा हुन् । त्यसैले कुनै पनि सरकारले यिनलाई आफ्नो कार्यकालको राजनीतिक सुविधाअनुसार हेर्न मिल्दैन । बालेनले मेयर हुँदा ग्रेटर नेपालको नक्सा राखेर एउटा राजनीतिक सन्देश दिएका थिए । संसद्मा पनि सीमा विवाद तथ्य र प्रमाणका आधारमा समाधान गर्नुपर्ने धारणा राखेका थिए । अब प्रधानमन्त्री बनेपछि आफूले त्यतिबेला राखेको धारणालाई व्यवहारमै उतार्ने जिम्मेवारी उनको काँधमा छ ।

किनभने, राष्ट्रियता भाषणमा कति चर्को बोलियो भन्नेले होइन, राष्ट्रिय हितका मुद्दामा कति दृढतापूर्वक उभिइयो भन्नेले प्रमाणित हुन्छ । भारतसँग हात मिलाउनु आवश्यक छ । सहकार्यका नयाँ ढोका खोल्नु पनि आवश्यक छ । तर, आफ्नै राष्ट्रिय मुद्दामा हात बाँधेर बस्नु आवश्यक छैन । बालेन सरकारले यो कुरा कति बुझ्छ र आगामी दिनमा सीमा विवादलाई कसरी अघि बढाउँछ, त्यसको परीक्षा भने अझै बाँकी छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000