Logo
Logo

गोकर्ण बिष्ट भन्छन्- कारबाहीकाे श्रृखंलाले पार्टी एकतामा गम्भीर संकट पैदा भयो


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेका नेता गोकर्ण बिष्टले पार्टीभित्र एकपछि अर्को गर्दै श्रृखंलाबद्ध रुपमा चलाएको कारबाहीले पार्टी एकतामा गम्भीर संकट पैदा भएको बताएका छन्।

उनले फेसबुकमा लेखेका छन्, ‘विगत केहि समय यता नेकपा एमालेमा देखापरेका समस्याहरूको समाधानका लागि संयमित र जिम्मेवारीपूर्ण पहल गर्नुको साटो एकपछि अर्को एकतर्फी र बिनाकारण सांसदहरुमाथि कारबाहीका घटनाहरु अघि बढाइएको छ। यस्ता कारबाहीका शृखंलाहरुले पार्टी एकतामा गम्भीर संकट पैदा गरेको छ।’

संवादहीनता र कारबाहीको बाटो कुनैपनि हालतमा विवाद समाधान हुन नसक्ने उनले दाबी गरेका छन्। अदालतको फैसला बमोजिम एमालेलाई नेकपा एकतापूर्वको अवस्थामा फर्काएर पार्टीलाई विचार र विधिबाट संचालन गरेर नै एकता जोगाउन सकिने उनको तर्क छ।

‘एउटा इमान्दार कार्यकर्ताको लागि पदीय हैसियत भन्दा पार्टी र आन्दोलनको भविष्य सधैं माथि हुन्छ। यसर्थ एमालेका नेता, कार्यकर्ता, समर्थक र शुभचिन्तकको चाहना बमोजिम एकतापूर्वको एमालेका सम्पूर्ण आधिकारिक कमिटीहरु ब्यूँताएर विधि मार्फत समाधान खोज्न म आग्रह गर्दछु’ उनले लेखेका छन्।

उनले पार्टी एकताको रक्षा गर्नका लागि आग्रह समेत गरेका छन्। अध्यक्ष केपी शर्मा ओलीले नेता माधवकुमार नेपाल समूहका २७ सांसदलाई स्पष्टीकरण सोधेका छन्। सांसदहरुलाई अन्तिम मौका भन्दै तीन दिनभित्र चित्तबुझ्दो जवाफ नफर्काए थप कारबाही हुनसक्ने चेतावनी समेत दिइएको छ।​

प्रतिक्रिया दिनुहोस्