Logo
Logo

सरकारलाई दिएको समर्थन फिर्ताबारे अलमलमा माओवादी


दृष्टि संवाददाता


काठमाडाैं । केपी ओली नेतृत्वको वर्तमान सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिनेबारे नेकपा माओवादी केन्द्रमा अलमल देखिएको छ ।

मंगलबार पार्टी कार्यालय कोटेश्वरमा बसेको माओवादी स्थायी कमिटी बैठकमा पनि समर्थन फिर्ताबारे छलफल भएपनि निर्णय हुन सकेन ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकमा यस विषयमा छलफल भएपनि निर्णय नभएको बताए । उनले नयाँ सरकार गठनका लागि काँग्रेसलगायतका दलसँग छलफल भइसकेको र त्यसले छिट्टै निष्कर्षमा पुग्ने बताए ।

यसअघि यस विषयमा पटक पटक बसेको बैठकले सरकारलाई दिएको समर्थनबारे छलफल गरे पनि कुनै निष्कर्ष निकाल्न सकेको छैन । यसरी नयाँ सत्ता समीकरणको टुंगो अन्तिम अवस्थामा नपुगेसँगै ओली सरकारलाई दिँदै आएको समर्थन यथावतै रहेको छ ।

उनले बुधबार दिउँसो १ बजेका लागि बैठक बोलाइएको र सो बैठकले यसबारे निर्णय लिनसक्ने संकेत गरे । यद्यपि, उनले ओली सरकारलाई पार्टीको कुनै पनि हिसाबले समर्थन नरहेको भन्दै मात्रै कानुनी रुपमा मात्रै समर्थन रहेको बताए ।

उनले काँग्रेस, जसपा लगायतका दलसँग ओली सरकार ढाल्न एकमत रहेको पनि दावी गरे । उनले भने, ‘काँग्रेसले हामीलाई के भनेको छ भनेर त हामीलाई थाहा छ, बाहिर के के भन्नुहुन्छ त्यो छाडिदिनुस् । काँग्रेस, जसपा र अरु सबैसँगको समझदारीको रुपमा हामी अघि बढिरहेका छौं ।’

प्रतिक्रिया दिनुहोस्