Logo
Logo

‘नेपाल समूहका सांसदमाथि कारबाही अगाडि बढ्छ’


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले माधव नेपाल समूहका सांसदले बुझाएको स्पष्टीकरणलाई विश्लेषण गरेर थप कारबाही अगाडी बढाइने बताएका छन् ।

नेकपा (एमाले)ले संघीय संसदका २७ र कर्णाली प्रदेशमा पार्टीको ह्वीप विपरित फ्लोर क्रस गर्ने सांसदलाई स्पष्टीकरण साधिएको बताउँदै प्रमुख सचेतक भट्टराईले सांसदले स्पष्टीकरण बुझाउन थालेको र प्राप्त स्पष्टीकरणको विश्लेषण गरेर थप कारबाही अगाडी बढाउने बताएका हुन् ।

केहीले संसदीय दलको कार्यालयमै उपस्थित भएर त केहीले इमेलबाट स्पष्टिकरण पत्र पठाएको बताए । पार्टीमा समानान्तर गतिविधि गर्ने, सार्वजनिक सञ्चारमाध्यममा पार्टी नेतृत्वलाई खुइल्याउने प्रयास गर्ने र कर्णाली प्रदेशको ह्वीप उलङ्घन गर्ने काममा नेतृत्वदायी भूमिका निर्वाह गरेका कारण सांसदहरुलाई स्पष्टिकरण सोधिएको भट्टराईले बताए ।

उनले भने, ‘समानान्तर गतिविधि गर्ने गल्ती भएको छ । सार्वजनिक सञ्चार माध्यममा पार्टी नेतृत्व, सरकारलाई खुइल्याउने प्रयासहरु भएका छन् । कर्णाली प्रदेशको ह्वीप उल्लङ्घनलाई निर्देशन गर्ने काम भएको छ । हाम्रो पार्टीलाई समाप्त गर्न चाहाने केही व्यक्तिहरुसँग पटक पटक उहाँहरुको उठबस हुने, गोप्य बैठकहरू हुने, अध्याँरा कोठाहरूमा बसेर पार्टी नेतृत्वलाई समाप्त गर्ने, पार्टी अध्यक्षको नेतृत्वको सरकारको विकल्प खोज्ने र अर्को पार्टीको नेतालाई प्रधानमन्त्री बन्दिनुस् भन्दै हिंड्ने ।’

प्रमुख सचेतक भट्टराईले कर्णाली प्रदेशमा पार्टीलाई ह्वीपलाई उलङ्घन गर्दै अर्को राजनीतिक दलको सरकार टिकाउनु संसदीय इतिहासकै कलङ्क भएको भन्दै कर्णाली प्रदेश सभामा फ्लोर क्रस गर्ने सांसदहरुलाई पार्टीले निस्कासन गर्ने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्