Logo
Logo

भूकम्पको ६ वर्षमा बन्यो धरहरा, भोलि उद्घाटन


दृष्टि संवाददाता


काठमाडौं । ६ वर्ष अघि गोरखाको बारपाक केन्द्रविन्दु भएको भूकम्पले राजधानीको सुन्धारामा रहेको धरहरा ढलायो । धरहरा चढ्न गएका ६० जनाको मृत्यु भयो सयौँ मानिस घाइते भए । उपत्यकाको एक महत्वपूर्ण ऐतिहासिकस्थल भूकम्पले भत्किएपछि पुनःनिर्माण गर्न ६ वर्ष लाग्यो । ६ वर्षमा भत्किएको धरहरा यथावत् राखी नजिकै अर्को धरहरा बनेको छ ।

विसं २०७४ कात्तिक २७ गते मन्त्रिपरिषद् बैठकले धरहरा पुनःनिर्माणको जिम्मेवारी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई दिने निर्णय गरेको थियो । विसं २०७५ असोज १४ गते प्राधिकरणले धरहरा पुनःनिर्माण शुरु गरेको थियो । पहिलोपटक प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले २०७२ फागुन ४ गते ‘मेरो धरहरा मै बनाउँछु’ अभियान शुरु गरे ।

भूकम्पले भत्किएपछि धरहरा क्षेत्र विस्तार भएको छ । अब धरहरा क्षेत्र ४२ रोपनी क्षेत्रफलमा फैलिने भएको छ । यस क्षेत्रमा एउटा अर्धभूमिगतसहित चार तल्ले भूकम्प र टक्सारसम्बन्धी सङ्ग्रहालय निर्माण भइरहेको छ ।

‘फूड कोर्ट’ सहितको ‘युटिलिटी ब्लक’ पनि बन्ने प्राधिकरणले जनाएको छ । धरहरा क्षेत्रमा विश्रामस्थल सहितको अत्यन्तै मनमोहक बगैँचा तथा सङ्गीतमय फोहरासमेत बन्नेछ । जसले आन्तरिक एवं बाह्य पर्यटकलाई यहाँ आकर्षित गर्नेछ ।

धरहराको निर्माण सकिए पनि त्यस क्षेत्रमा निर्माण हुने अन्य संरचनाको काम भइरहेको छ । धरहराको भोलि बिहान ११ बजे प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने कार्यक्रम छ ।

नजिकैबाट खिचिएको नवनिर्मित धरहरा ।

धरहरा क्षेत्रमा तीनतल्ले भूमिगत पार्किङको व्यवस्था गरिने छ । जहाँ चार सय गाडी र सात सय मोटरसाइकल पार्किङ गर्न सकिने छ । भीमसेन थापाले विसं १८८२ मा बनाएको धरहरा (भीमसेन स्तम्भ) लाई सिसाले छोपेर संरक्षण गरी राखिएको छ ।

धरहरा क्षेत्रमा रहेको ऐतिहासिक सुन्धाराको पनि संरक्षण हुन लागेको छ । सुन्धारामा २४सै घण्टा पानी आउने व्यवस्था मिलाउन लागिएको छ । धरहरा र सङ्ग्रहालय जोड्ने आकर्षक आकाशे पुल पनि निर्माण गरिने योजना बनाइएको छ ।

धरहराका विशेषता
धरहरा बाहिरबाट हेर्दा ११ तलाको देखिए पनि भित्र जमिनमुनि दुई तलाको भूमिगत संरचना रहने छ । जमिनमाथि भुइँतल्लासहित २३ तला हुनेछ । समग्रमा धरहरा २५ तलाको हुने प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले जानकारी दिए । धरहरासहित यस क्षेत्रमा निर्माण हुने संरचनाको कूल लागत रु तीन अर्ब ४८ करोड छ ।

जमिनमाथिबाट गजुरसहित धरहराको उचाइ ८३ दशमलव ८५ मिटर छ । भूमिगत तलासहित ९२ दशमलव २५ मिटर हुन्छ । धरहराभित्र दुई लिफ्ट राखिएको छ । लिफ्टमा एक पटकमा १० जनाले यात्रा गर्न सक्ने छन् । लिफ्टका कारण वृद्धवृद्धा तथा अपाङ्गता भएकालाई धरहरा चढ्न सहज हुनेछ । धरहरामा फलामको भर्‍याङसमेत जडान गरिएको छ ।

सुनधारामा नवनिर्मित धरहरा ।

धरहराबाट उपत्यकाको दृश्यावलोकनका लागि २०औँ तला बाहिर २ दशमलव ५ मिटर चौडाइको बार्दलीसमेत बनाइएको छ । बाइसौँ तलामा पुरानो धरहराबाट झिकी सुरक्षित राखिएको शिवलिङ्ग स्थापना गरिएको छ । धरहरामुनिको दुईतले भूमिगत संरचनामा दुईवटा ‘विद्युतीय स्वचालित भर्‍याङ’ बाट तलमाथि गर्न सकिने गरी संरचना तयार पारिएको छ ।

धरहराको इतिहास

विसं १८८२ मा महारानी ललिता त्रिपुरासुन्दरीको आज्ञामा नेपालका पहिलो प्रधानमन्त्री भीमसेन थापाले ६१ दशमलव ८८ मिटर अग्लो ११ तल्ले धरहरा बनाउन लगाएको इतिहास छ । विसं १९१३ मा चट्याङले भत्केपछि विसं १९२३ मा धरहराको जीर्णोद्धार गरिएको थियो ।

विसं १९९० माघ २ गतेको भूकम्पले भत्किएको धरहरा दुई वर्षपछि तत्कालीन प्रधानमन्त्री जुद्धशमशेरको शासनकालमा पुनःनिर्माण गरिएको थियो । पुनःनिर्माणका क्रममा ११ तले धरहरालाई नौ तलामा सीमित गरिएको थियो ।

यो धरहराभन्दा अघि विसं १८८१ मा थापाले नै लगनटोलमा आफ्नो नाममा धरहरा निर्माण गरेका थिए । त्यसको नाम पनि भीमसेन स्तम्भ नै राखिएको थियो । विसं १८९० मा भत्किएपछि लगनटोलको धरहरा पुनःनिर्माण नभएको ऐतिहासिक दस्तावेजमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्