Logo
Logo

दिल्लीमा अक्सिजनको हाहाकार, तड्पिएरै मरे २५ बिरामी


दृष्टि संवाददाता


नयाँदिल्ली । दिल्लीको गंगाराम अस्पतालमा पर्याप्त अक्सिजन आपूर्ति नहुँदा गएको २४ घण्टामा पच्चीस बिरामीको मृत्यु भएको छ ।

अस्पतालका मेडिकल डाइरेक्टरले सामाजिक सञ्जालमा दुई घण्टाका लागि अक्सिजन रहेको र ६० जना बिरामीको ज्यान खतरामा रहेको भन्दै ‘एसओसएस’ सन्देशमार्फत् सहयोगका लागि याचना गरेको सञ्चारमाध्यमहरुले जनाएका छन् ।

अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर बलुजाका अनुसार अस्पतालमा शुक्रबार साँझ साँढे पाँच बजेसम्म आउनुपर्ने अक्सिजन मध्यराति १२ बजेमात्रै पुग्यो । तोकिएको समयभन्दा ७ घण्टा ढिलो अक्सिजन आइपुग्दा गम्भीर अवस्थाका २५ जनाको मृत्यु भइसकेको थियो ।

अस्पतालमा पाँच सयभन्दा बढी कोरोना संक्रमित उपचाररत रहेको र त्यसमध्ये १४० जनाभन्दा बढीलाई अक्सिजन दिइएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । अक्सिजन आपूर्तिपछि ठूलो खतरा टरेको भए पनि राति आपूर्ति भएको अक्सिजन धेरै समयका लागि नपुग्ने बताइएको छ ।

त्यसैगरी दिल्लीकै अर्को अस्पताल म्याक्सले पनि बिहीबार राति अक्सिजन केही घण्टाका लागि मात्र भएको भन्दै सहयोगका लागि आग्रह गरेको थियो । ‘सात सयभन्दा बढी बिरामी भर्ना छन् । एक घण्टाभन्दा कम समयलाई पुग्ने अक्सिजन छ । तत्काल सहयोग चाहियो । अक्सिजन सप्लाईका लागि पर्खिरहेका छौं । राति एक बजेदेखि पर्खिरहेका छौं,’

कोरोना महामारीको दोस्रा लहर सुरु भएसँगै भारतका दिल्लीलगायत राज्यहरुमा अक्सिजनको चरम अभाव भएको छ । अस्पताल पुगेका बिरामीले पनि समयमा अक्सिजन नपाउँदा ज्यान गुमाउनु परेको छ ।

दुई दिनअघि दिल्लीका प्रमुख अस्पतालहरुले सरकारलाई अक्सिजन आपूर्तिका लागि आदेश जारी गर्न भन्दै अदालतको ढोका ढकढकाएका थिए । त्यसपछि दिल्ली उच्च अदालतले सरकारले बिरामीको ज्यानसँग खेलबाड गरेको भन्दै तत्काल अक्सिजन आपूर्ति व्यवस्था गर्न भनेको थियो ।

प्रतिक्रिया दिनुहोस्