Logo
Logo

वीरगन्जमा फेरि भयावह, एउटै बेडमा तीन जना संक्रमितको उपचार हुँदै


दृष्टि संवाददाता


वीरगन्ज । कोरोनाको पहिलो लहरका बेला कोरोना महमारीको हटस्पट बनेको वीरगन्जमा फेरि संक्रमणको दर उच्च देखिएको छ । संक्रमण दर उच्च भएपछि कोरोना संक्रमितको उपचारका लागि बेड अभाव भएको छ । नारायणी अस्पतालको आकस्मिक विभागको एउटै बेडमा तीन–तीन जना कोरोना संक्रमितलाई राखेर उपचार भइरहेको छ ।

संक्रमित उपचारका लागि नारायणी अस्पतालले आकस्मिक विभागको एकापट्टि आइसोलेसन वार्ड र अर्कोपट्टि आकस्मिक कक्ष सञ्चालनमा ल्याएको थियो । तर, अहिले संक्रमित संख्या बढेपछि आकस्मिक कक्षमा आएका कोरोना शंकास्पदलाई पनि संक्रमितसँगै राखेर उपचार थालिएको छ ।

नारायणी अस्पतालका वरिष्ठ फिजिसियन डा निरजकुमार सिंहका अनुसार वीरगन्जको अवस्था भयावह भइसकेको छ । डा सिंहका अनुसार एक रातमा ठूल्ठूला ५० वटा अक्सिजन सिलिन्डर सकिइरहेको छ ।

अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासका अनुसार नारायणीको आइसोलेसनमा ४९ जना संक्रमितको उपचार भइरहेको छ । ‘भर्ना भएका सबै संक्रमितलाई अक्सिजन दिइरहेका छौँ,’ उनले भने, ‘लक्षण नभएका र सिकिस्त नरहेका संक्रमितलाई राखेका छैनौँ ।’

फेरि संक्रमण समुदायस्तरमै

डा. सरोज दासका वीरगन्जमा फेरि संक्रमण समुदायस्तरमै पुगिसकेको संकेत देखा परेको  छ । भारतमा संक्रमणको दोश्रो लहर सुरु भएपछि पर्सामा पनि सुरुवातमा भारतबाट आउने मात्र संक्रमण देखिएको भएपनि पछिल्लो समय समुदायकै मानिसमा संक्रमण भेटिन थालेको बताए डा. दासले बताए ।

सामान्य लक्षण भएकाहरु भने परीक्षणका लागि नआएकाले उनीहरुबाट समुदायमा संक्रमण फैलिरहेको उनको भनाइ छ। परीक्षणको दायरा बढाउने हो भने अझै धेरै संक्रमित थपिदै जाने अवस्था रहेको पनि उनले बताए ।

नाकामा छैन सावधानी

खुल्ला सीमा जोडिएको छिमेकी मुलुक भारतमा कोरोना संक्रमण तीव्र गतिमा बढिरहेको भएपनि वीरगन्ज नाकामा कडा सावधानी अपनाइएको छैन । रक्सौल वीरगन्ज नाका हुँदै दैनिक हजारौं मानिस सहज रुपमा नेपाल प्रवेश गरिरहेका छन्।

वीरगन्ज नाकामा महानगरपालिकाले हेल्थ डेस्क स्थापना त गरेको छ । तर डेस्कमा ४ जना मात्र स्वास्थ्यकर्मी खटाइएको र उनीहरुले २ सिफ्टमा काम गरिरहेकाले भारतबाट भित्रिने सबैको परीक्षण हुन सकिरहेको छैन ।

छिमेकी मुलुक भारतमा कोभिड–१९ कोे दोस्रो लहर बढेसँगै नेपालमा पनि कोरोनाको संक्रमित बढ्दै गएको र देशकै प्रमुख प्रवेशद्वार वीरगञ्ज सबभन्दा जोखिममा भएकोले पूर्व तयारीका साथ सतर्कता अपनाउनका लागि विभिन्न निर्णयहरु गरेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्