Logo
Logo

गण्डकीमा सरकार जोगाउन सांसद अपहरण !


दृष्टि संवाददाता


पोखरा । गण्डकी प्रदेश सभामा राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाहीको अवस्था अज्ञात रहेको भन्दै उक्त पार्टीकी सचेतक पियारी थापाले सभामुखलाई निवेदन दिएकी छन् । उनको सत्तापक्षबाट अपहरण भएको आशंका गरिएको छ ।


शाहीको जीवन रक्षा गर्न र अवस्था सार्वजनिक नभएसम्म सदनको कारबाही अगाडि नबढाउन भन्दै थापाले सभामुख नेत्रनाथ अधिकारीलाई निवेदन दिएको थापाले बताइन् । उनी बेपत्ता भएपछि सभामुखले अनिश्चितकालका लागि संसद बैठक स्थगित गरेका छन् ।

’उहाँको अवस्था अज्ञात छ । फोन पनि उठेको छैन । कोठामा पनि ताला लगाइएको छ,’ सचेतक थापाले भनिन्, ’उहाँका स्वकीय सचिवलाई पनि फोन गरेर बुझेको थिए । स्वकीय सचिवले हिजो दिउँसोदेखि सम्पर्क हुन सकेको छैन भन्ने जानकारी दिएका छन् ।

 

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव आएको र त्यसको विपक्षमा पार्टीले मतदान गर्ने निर्णय गरेको अवस्थामा प्रदेश सभा सदस्यको अवस्था अज्ञात हुनु शंकास्पद रहेको थापाले बताइन् । ’सभामुखलाई माननीय शाहीको अवस्था सार्वजनिक नहुन्जेलसम्म सदनको कारबाही रोक्नेबारे र उहाँको जीवन रक्षा गर्नका साथै अवस्था सार्वजनिक गर्न माग गर्दै निवेदन दर्ता गराएकी छुँ,’ उनले भनिन् ।

मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वास प्रस्तावको अगुवाइ गरेका माओवादी केन्द्रका प्रदेश सभा सदस्य हरिबहादुर चुमानले मंगलबार कोरोना परीक्षणका लागि स्वाब दिने बेलासम्म सकुशल रहेका शाहीको अवस्था अज्ञात हुनु शंकास्पद रहेको बताए । उनले शाहीको अवस्था सार्वजनिक गर्न र उनलाई के भएको थियो भन्नेबारे छानबिन गर्न माग गरेका छन् ।


मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वास प्रस्तावमा बुधबार मतदान हुँदै थियो । अविश्वास प्रस्ताव असफल बनाउन केही सांसद किनबेच भएको आंशका गरिएको छ । सांसद राजीव गुरुङ समेत प्रदेश सभामा उपस्थ्ति भएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्