Logo
Logo
गण्डकी प्रदेशमा भाँडभैलो :

जनमोर्चाका सांसद बेपत्ता, दीपक मनाङ्गे सम्पर्कविहीन

अविश्वास प्रस्तावमाथिको मतदान रोकियो


दृष्टि संवाददाता


काठमाडौं । गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वासको प्रस्तावमाथिको मतदान गर्ने दिन रोचक घटना भएका छन् । प्रदेश सांसद कोही हराउने र कोही फोन अफ गरिदिएकाले गुरुङको सत्ता केही दिन लम्बिएको छ । सांसद हराएपछि बैठक नै स्थगित भएसँगै मुख्यमन्त्री गुरुङलाई सांसद आफ्नो पक्षमा पार्ने समय बढेको छ ।

अविश्वासको प्रस्तावमाथिको मतदान लम्ब्याउन विभिन्न तरकिब मंगलबार देखि नै भएका थिए । सांसदलाई रिसोर्टमा राख्ने काम भए । त्यतिमात्र नभई बैठकमा एमाले सांसदले त सांसदको पीसीआर परीक्षण विना बैठक सञ्चालन गर्न नहुने बताउँदै बैठक नै अवरुद्ध पारे ।

मंगलबार नै बसेको कार्यव्यवस्था समितिको बैठकले कोरोनाको परीक्षण गरिने र कोरोना पुष्टि भएका सांसदले पनि मत दिन पाउने व्यवस्था गरिदियो । त्यसपछि बुधबार बसेको बैठकमा राष्ट्रिय जनमोर्चाका प्रमुख सचेतक सांसद खिमविक्रम शाही विरामी भएको भन्दै अनुपस्थित भएपछि कांग्रेस र माओवादीले पेस गरेका अविश्वास प्रस्ताव पारित नहुने निश्चित हुन पुग्यो ।

शाही बेपत्ता भएको भन्दै जनमोर्चाकै सचेतक पियारी थापाले उनको खोजी गर्न माग गर्दै प्रदेश सभा बैठकको कारवाही रोक्न निवेदन दिइन् । उनले निवेदन दिए लगत्तै सभामुख नेत्रराज अधिकारीले एकतर्फी रुपमा सूचना टाँसेर प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित गरे ।

राष्ट्रिय जनमोर्चा जता लाग्यो त्यतै मत दिने भनेर बसेका अर्का सांसद गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ ‘दीपक मनाङे’ बुधबार बोलाइएको प्रदेश सभा बैठकमा अनुपस्थित भए । मनाङ ‘ख’ बाट स्वतन्त्र चुनाव जितेका गुरुङ माओवादी र एमाले एकजुट भएर पार्टी एकता गरेपछि कम्युनिष्ट पार्टीमा प्रवेश गरेका थिए ।

गत फागुन २३ गते सर्वोच्च अदालतको फैसलाले माओवादी र एमालेलाई साबिककै अवस्थामा फर्काइदिएपछि उनी आफू स्वतन्त्र बताउँदै आएका थिए । तर, केही दिनदेखि सांसद गुरुङले राजमोले जुन पक्षलाइ समर्थन गर्छ आफूले पनि उसैलाइ सहयोग गर्ने अभिव्यक्ति सार्वजनिक गरेका थिए । तर, उनको पनि सबै नम्बर अफ छ भने उनी पनि बैठकमा अनुपस्थित हुन पुगे ।

सम्पर्कविहीन भएका राष्ट्रिय जनमोर्चाका प्रदेशसभा सदस्य खिमविक्रम शाही अस्पतालमा कोभिड–१९ उपचार गर्ने आईसीयूमा भेटिएका छन् । यद्यपि उनको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ छ । प्रदेशसभा सदस्य शाही पोखरास्थित चरक अस्पतालको कोभिड वार्डको आईसीयूमा भेटिएका हुन् ।

उनीसँगै कांग्रेस प्रदेशसभा सदस्य मनकुमारी गुरुङ बुधबार विहान अस्पतालमा भर्ना भएका थिए । प्रदेशसभा सचिवालयले गरेको पीसीआर टेष्टमा शाहीको रिपोर्ट नेगेटिभ आएको थियो । तर अस्पतालमा पोजेटिभ रिपोर्ट देखाएर भर्ना भएको पोखरेलले बताए ।

प्रतिक्रिया दिनुहोस्