Logo
Logo

गण्डकी प्रदेशमा गुण्डागर्दी भएको कांग्रेसको आरोप


दृष्टि संवाददाता



काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले गण्डकी प्रदेशमा बुधबारका लागि तय गरिएको मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वासको प्रस्तावमाथिको मतदान रोक्न प्रदेश सरकारले गुण्डागर्दी शैली अपनाएको आरोप लगाएका छन् ।

बुधबार सामाजिक सञ्जालमा ट्वीट गर्दै कांग्रेस प्रवक्ता शर्माले अविश्वास प्रस्ताव आएपछि त्यसको सही ढंगले निरुपण गर्नुपर्नेमा सरकार गैरजिम्मेवार र गुण्डागर्दी शैलीमा उत्रिएको बताएका हुन् ।

उनले गण्डकी प्रदेश सभामा जनमोर्चाका सांसद खिमविक्रम शाहीलाई अस्पतालको ’आईसीयू’मा भर्ना गरिएको बारेमा आपत्ति जनाए । अविश्वासको प्रस्ताव आएको अवस्थामा एकदिन अघिसम्म स्वस्थ रहेका सांसद कसरी अस्पताल भर्ना भए भनेर प्रश्न गरेका छन् ।

’संसदीय परिपाटीमा अविश्वासको प्रस्ताव आउँदै गर्दा स्वस्त ढंगले निरुपण गराउने जिम्मेवारी सरकारको हो,’ उनले भने, ’कोरोनाको बिरामी आईसीयू बेड नभएर छटपटिइरहेका छन् तर सांसद शाहीको त कोरोना परीक्षण रिपोर्ट नेगेटिभ छ तर पनि कसैलाई भेट्न नदिने गरी स्वास्थ्य अवस्था गम्भीर छ भनेर आइसीयूमा राखिएको छ ।’

शर्माले स्वस्थ व्यक्तिलाई अस्पतालमा राखिनु र उपचारका नाममा बन्दी बनाइएको बारे प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि प्रश्न गरेका छन् । ’स्वस्थ, तन्दुरुस्त मान्छेलाई पृथ्वी चोकको चरक अस्पतालको आईसियूमा कसैलाई भेट्न नदिएर किन राखिएको छ ? उपचारका नाममा बन्दी ? अविश्वासमा मत दिन रोक्ने नाममा सत्ता संरक्षित गुण्डागर्दी ?’ शर्माले प्रश्न गरेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्