Logo
Logo

खरेलको निर्देशनमा उन्मुक्ति


दृष्टि संवाददाता


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा संगठित अपराधमा मुछिएका व्यक्तिहरुले उन्मुक्ति पाएका छन् । मृत्यु भइसकेका व्यक्तिको जग्गा नक्कली धनी खडा गरी अर्काको नाममा पास गर्ने कार्यमा संलग्न भएको आरोप लागेका एक वडाध्यक्ष लगायतलाई उन्मुक्ति दिइएको छ । गौरादह–७ का वडाध्यक्ष बलराम खरेललाई लगायतलाई बालुवाटरको दबाबमा सरकारी वकिलको कार्यालय झापाले मुद्दा नचलाउने निर्णय गरेको हो । जबकी प्रहरी अनुसन्धानमा अपराधमा उनीहरुको समेत संलग्नता देखिएको थियो ।

भूमाफियासँग मिलेर मृत्यु भएका व्यक्तिलाई ज्यूँदै भएको नक्कली प्रमाण बनाएर जग्गा अर्काको नाममा पास गर्ने गिरोहमा वडाध्यक्ष खरेल, भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुरका अधिकृत चेतन अधिकारी, कार्यालयका तत्कालीन नायब सुब्बा हरि तिवारीले सघाएका थिए । उनीहरु तिनै जनालाई जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा नचलाउने निर्णय गरेको हो ।

उनीहरूले बिर्तामोड–१ स्थित पूर्वपश्चिम राजमार्गसँगै जोडिएको मृत्यु भइसकेका टुंगबहादुर बस्नेतको नाममा रहेको एक कठ्ठा जग्गा नक्कली जग्गाधनी खडा गरेर बिक्रि गरेका थिए । कनकाई नगरपालिकास्थित कोटिहोममा बस्ने ७१ वर्षीय देवीप्रसाद पाण्डेलाई नक्कली टुंगबहादुर बनाएर जग्गा पास गरिएको थियो । टुंगबहादुरको मृत्यु २०७३ मै भइसकेको थियो । गिरोहले टुंगबहादुरको नक्कली नागरिकताको प्रतिलिपी बनाएर गत माघ २१ गते बिर्तामोड–४ की ३३ वर्षीय रञ्जु राईको नाममा जिल्ला मालपोत तथा भूमिसुधार कार्यालय झापाबाट जग्गा पास गराएको थियो । जून काम वडाअध्यक्ष र मालपोतका कर्मचारीको सहयोग विना सम्भव छैन । जसमा तीनै जनालाई फरार अभियुक्तका रुपमा प्रहरीले उनीहरुविरुद्ध समेत मुद्दा चलाउन रायसहितको अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।

वडा अध्यक्ष खरेल पूर्व महान्यायाधिवक्ता अग्नि खरेलका निकट हुन् । खरेलले सोही निर्वाचन क्षेत्रबाट चुनाव लड्ने तयारी गरिरहेका छन् । त्यसकारण उनकै जोडबलमा वडा अध्यक्ष खरेललाई उन्मुक्ति दिइएको छ । यो घटनाप्रति पीडित पक्ष असन्तुष्ट बनेको छ । प्रहरी समेत अचम्मित बनेको छ । सो प्रकरणमा पक्राउ परेका अन्य व्यक्तिहरु भने जेल चलान भएका छन् ।

प्रतिक्रिया दिनुहोस्