Logo
Logo

ओलीका एक्लो सारथि महन्थ


दृष्टि संवाददाता


काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर एक्लिएका छन् । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीको पक्षमा रहेका अध्यक्ष ठाकुरलाई उनकै पक्षका नेता राजेन्द्र महतोले समेत साथ नदिएपछि ठाकुर एक्लिएका हुन् ।

केही दिनअघि सम्म अध्यक्ष ठाकुरको पक्षमा खुलेका वरिष्ठ नेता राजेन्द्र महतो अहिले भने बाबुराम भट्टराई– उपेन्द्रयादव पक्षमा खुलेका छन् । महतोले प्रधानमन्त्रीलाई विश्वासको मत दिन नसक्ने बताएका छन् । वैशाख २७ मा प्रधानमन्त्री ओलीले संसदबाट विश्वासको मत लिँदै छन् । जसपासँग विश्वासको मतको अपेक्षा गरिरहेको भएपनि जसपाभित्रै दुई धार छ ।

एउटा धार संघीय परिषद् अध्यक्ष भट्टराई र अध्यक्ष यादव, अर्काे अध्यक्ष महन्थ ठाकुरको धार भएको छ । ठाकुरको पक्षमा रहेर ओलीसँग आफ्ना माग पूरा गर्न लागिपरेका महतोले शुक्रबार यादव–भट्टराईकै पक्षमा लागेका छन् । उनले ओलीलाई विश्वासको मत नदिने बताएकाले ठाकुर एक्लो भएका हुन् ।

ओलीले यसअघि मन्त्रिपरिषदबाट जसपाको माग सम्बोधन गर्दै १ सय बढी नेता/कार्यकर्तालाई लगाइएको मुद्दा फिर्ता लिने निर्णय गरेका थिए । मुद्दा फिर्ता गरेपछि नेता महतोले सरकारलाई साथ दिन सक्ने बताएका थिए भने ओलीले ठाकुर र महतोका कारण सिंगो जसपाको साथ पाउने अपेक्षा गरेका थिए । तर, अब भने ओलीको एक्लो सारथिका रूपमा ठाकुर मात्रै देखिएका छन् ।

अध्यक्ष ठाकुर र ओलीबीच लामो समयदेखि सरकारमा सहकार्य गर्ने विषयमा छलफल हुँदै आएको छ । यस्तो अवस्थामा ओलीलाई छोड्न ठाकुरलाई सहज छैन । उता, आफ्नै पक्षका नेता भने ओलीलाई साथ नदिने लाइनमा रहेकाले ठाकुर असमनजसमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्