Logo
Logo

प्रहरी अस्पतालमा बेड थप, २२४ को उपचार हुँदै


दृष्टि संवाददाता



काठमाडौं । नेपाल प्रहरी अस्पताल महाराजगंजमा हाल २ सय २४ जना कोभिड–१९ बाट सङ्क्रमित बिरामीहरूको निःशुल्क उपचार भईरहेको छ । ती मध्ये २० जना भेन्टिलेटरमा, १९ जना आईसियुमा, मध्यम अवस्थाका १ सय ५ जना र सामान्य अवस्थाका ८० जना रहेका छन् ।


बिरामीहरूमध्ये प्रहरी कर्मचारी, पूर्व प्रहरी कर्मचारी र प्रहरी कर्मचारीका परिवार गरी १ सय ४३ जना तथा ८१ जना सर्वसाधारण नागरिक रहेका छन् । विरामीहरूमध्ये आइतबार उपचारका लागि अस्पतालमा १५ जना र २ नम्बर गणमा छुट्टै बेडको व्यवस्था गरी ६ जनालाई भर्ना गरिएको छ । उपचाररत मध्ये १४ जना डिस्चार्ज भएका छन् भने ८७ वर्षीय र ६६ वर्षीय गरी २ जनाको उपचारको क्रममा मृत्यु भएको छ ।
नेपाल प्रहरी अस्पतालमा जम्मा २ सय ६४ वेड उपलब्ध छन् । ती मध्ये १ सय ६१ साधारण, ७३ एचडियू (हाई डिपेन्डेन्सी यूनिट) र भेन्टिलेटर सहितका २० तथा भेन्टिलेटर बाहेकका १० गरी ३० आईसियु वेड रहेका छन् ।

कोभिड–१९ बाट संक्रमितको उपचार र सेवामा नेपाल प्रहरी अस्पतालले उपलब्ध साधन स्रोतको उच्चतम प्रयोग तथा थप साधन स्रोतको व्यवस्था समेत गरी अनवरत सेवा प्रदान गर्दै आइरहेको छ । सो क्रममा हाल कोभिड–१९ को महामारीबाट संक्रमित बिरामीहरूको चाप बढ्दै गइरहेको अवस्थालाई मध्येनजर राखी ईमर्जेन्सीमा अस्थाई रुपमा २६ बेड थप गरी अक्सिजन सहित उपचार प्रदान गरिएको छ । बेड खाली हुनासाथ उनीहरूलाई स्थान्तरण गरी उपचार गरिने व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्