काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिएर मार्ग प्रसस्त गर्न सुझाव दिएका छन् । सोमबार संसद भवनमा प्रधानमन्त्रीले विश्वासको मत मागेको बैठकमा सम्बोधन गर्दै दाहालले ओलीलाई राजीनामा दिन सुझाएका हुन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत प्राप्त नहुने पनि बतए । उनले ओलीलाई राजीनामा दिएर नयाँ सरकार बनाउने मार्ग प्रशस्त गर्न पनि आग्रह गरे ।
सोमबार संसदलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न सक्ने स्थिति छैन । प्रधानमन्त्रीले अघि मतको लागि आग्रह गर्नुभएको छ । तर उहाँलाई पनि राम्रोसँग थाहा छ, यो सदनले उहाँलाई विश्वासको मत दिँदैन । उहाँले बुझ्दाबुझ्दै पनि अपिल गर्नुभएको छ। यो उहाँको अपीललाई लोकतान्त्रिक प्रक्रियाको रुपमा सम्मान नै गर्न चाहन्छु ।’
उनले संविधान निर्माणको समयलाई सम्झँदै स्थायित्व बनाउन खोजेको तर, फेरि अस्थिरतातर्फ गएको चिन्ता व्यक्त गरे । विगतको गलत परम्परा र विसंगति दोहोरिन नदिनका लागि यो व्यवस्था राखेको तर, फेरि विश्वासको मत, सांसदहरूको किनबेचको अवस्था सिर्जना भएको बताए ।













