Logo
Logo

सुरक्षाकर्मी : मास्कदेखि मलामीसम्म


दृष्टि संवाददाता


काठमाडौं । जब देशमा विपद् हुन्छ, त्यस्तो अवस्थामा सुरक्षाकर्मी ‘भगवान’को अवतार बन्ने गर्दछन् । भूकम्पदेखि बाढीपहिरो मात्र होइन अहिले कोरोना महामारीविरुद्धको लडाईमा सुरक्षाकर्मीहरु फ्रन्टलाइनमा छन् ।

सेवा सुविधामा राज्यबाट अपहेलित भएपनि विपद्को समयमा त्यो सबै असन्तुष्टि बिर्सिएर आफ्नै ज्यानको बाजी लगाएर उनीहरू नागरिकको सेवामा खटिएका छन् । नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीले अहिले महामारीको समयमा खेलेको भूमिका उदारणीय छ ।

नियमित शान्ति सुरक्षा र अपराध अनुसन्धानको मुख्य जिम्मेवारी रहेको नेपाल प्रहरी अहिले मास्क वितरण गर्नेदेखि अस्क्सिजन सिलिन्डर संकलन गर्ने काममा खटिएको छ । सार्वजनिक स्थानमा मास्क नलागाई हिड्नेहरुलाई प्रहरीले केही समय होल्ड गरेर मास्क दिने गरेको छ । दैनिक प्रहरीले यसरी ५÷६ हजार मास्क वितरण गर्दै आएको छ ।

प्रहरीले गरेको अर्काे उदारणीय काम भनेको अक्सिजन सिलिन्डरको संकलन हो । कोरोना संक्रमित बिरामीलाई अक्सिजनको अभाव हुन थालेपछि देशभरी प्रहरीले प्रयोगमा नभएका तथा कतै चाहिने भन्दा धेरै अवस्थामा रहेका अक्सिजन सिलिन्डर संकलन गरी अस्पताल तथा अक्सिजन कम्पनीमा बुझाउने गरेको छ ।

प्रहरीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट करिब तीन हजार अक्सिजन सिलिन्डर कोभिड अस्पताल र सम्बन्धित अक्सिजन प्लान्ट उद्योगलाई उपलब्ध गराएको छ । आवश्यकता भन्दा बढी अक्सिजन सिलिन्डर होल्ड गर्ने अस्पताल, व्यक्ति लगायत अन्य संघसंस्थाका सिलिन्डर पनि प्रहरीले संकलन गरेको छ । त्यस्तै, स्वास्थ्य प्रयोजन बाहेक अन्य प्रयोजनमा प्रयोग गर्ने उद्देश्यले विभिन्न उद्योग, कलकारखाना, कवाडी, ग्यास वेल्डिङ, पसल तथा गोदामहरूमा स्टक गरी राखेका अक्सिजन सिलिन्डर नियन्त्रणमा लिई पछि फिर्ता गर्ने गरी अस्पताल तथा उद्योगमा वितरण भएको छ । यसको सुरुवात ललितपुर प्रहरीबाट भएको थियो । पछि गृह मन्त्रालयले देशभरी यस्तै काम गर्न निर्देशन दिएको थियो ।

नेपाली सेना पनि महामारीमा अंग्रमोर्चामै छ । खासगरी कोरोनाबाट मृत्यु भएकाको शव व्यवस्थापन जस्ता संवेदनशील काम उसले गर्दै आएको छ । होल्डिङ सेन्टर निर्माणमा पनि सेनालाई खटाइएको छ ।

सशस्त्र प्रहरी निषेधाज्ञा लागू गराउन सडकमा खटिनेदेखि सीमा सुरक्षा र व्यवस्थापनमा खटिदै आएको छ । भारतबाट अवैध रुपमा प्रवेश गर्नेलाई सशस्त्र प्रहरीले नियन्त्रण गर्दै आएको छ ।

कोरोनाविरुद्धको लडाईमा सुरक्षा निकाय लडेको १४ महिना भइसकेको छ । सरकारले उनीहरुलाई जोखिम भत्ता दिने निर्णय गरेपनि अहिलेसम्म एक रुपैयाँ पनि पाएका छैनन् । १० प्रतिशत कर्मचारीलाई मात्र दिने निर्णय गरेपछि सरकारको जोखिमभत्ता बिना नै देश सेवा गर्ने साहसिक निर्णय सुरक्षा निकायले गरेका थिए ।

खोपले जोगायो दुर्घटना

कोरोनाको पहिलो लहरमा ठूलो संख्यामा सुरक्षाकर्मी संक्रमित भएका थिए । त्यसको तुलनामा दोस्रो लहरमा थोरै मात्र संक्रमित भएका छन् । संक्रमित भएका पनि पहिलेजस्तो गम्भीर बिरामी भएका छैनन् ।

यसको कारण खोप हो । धेरै जसो सुरक्षाकर्मीले खोप लगाएका छन् । जसकारण यसपटक संक्रमण कम भएको हो । तीनै सुरक्षा निकायमा गरेर हाल करिब नौ सय जनालाई संक्रमण भएको छ । ‘खोप नलगाएको भए अहिले आधा सुरक्षाकर्मी संक्रमित हुन्थे,’ एक उच्च प्रहरी अधिकरी भन्छन्,‘खोपले ठूलो दुर्घटना जोगाएको छ ।’ सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीमा समेत संक्रमण न्यून देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्