भजनी । स्वयम्सेवी संस्था टीकापुर सरोकार समूहले टीकापुर अस्पतालमा अक्सिजन सहयोग गर्नका लागि अक्सिजन सहयोग अभियानको थालनी गरेको छ ।
अक्सिजनको अभावले दैनिक नागरिकले ज्यान गुमाउन थालेपछि टीकापुर अस्पताल, टीकापुर उधोग वाणिज्य संघ र टीकापुर सरोकार समुहले संयुक्त रुपमा अक्सिजनको अभावमा कुनै व्यक्तिले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यका साथ उक्त अभियानको शुरुवात गरेको हो ।
अभियानको शुरुआत् भएसँगै विभिन्न सहयोगदाताले सहयोग रकम उपलब्ध गराउन थालेका छन् । सरोकार समूहसँग आवद्ध देश तथा विदेशमा रहेका नागरिकले अस्पतालमा अक्सिजन आपूर्तिमा सहयोग होस भन्दै स्वेच्छिक सहयोग गर्न थालेका छन् ।
अभियानका लागि टीकापुर उद्योग वाणिज्य संघका अध्यक्ष रामबहादुर भण्डारी, टीकापुर अस्पताल विकास समितिका अध्यक्ष दीपक रावल र सरोकार समूहका सदस्य नवराज भट्टराईको नाममा संयुक्त बैंक खाता समेत खोलिएको छ ।
‘अक्सिजन अभावका कारण नागरिकहरुले अकालमा ज्यान गुमाउँदै आएका छन, एक नागरिकले अर्कोलाई अप्ठ्यारोमा सहयोग गर्नु हाम्रो कर्तव्य हो’, सरोकार समूहका सदस्य भट्टराईले भने, ‘हामीले सोचेका पनि थिएनौ यति राम्रो सहयोग जुटला भनेर । हालसम्म करिब ४३ लाख रुपैयाँ सङ्कलन भैसकेको छ ।’
टीकापुर नगरपालिका र जानकी गाउँपालिकाले अक्सिजन प्लान्ट निर्माणमा सघाउने भएका छन । दुवै पालिकाले टीकापुर अस्पतालमा निर्माण हुने अक्सिजन प्लान्ट निर्माणमा सघाउने निणर्य गरेका छन् ।
टीकापुरले २० र जानकी गाउँपालिकाले १५ लाख रुपैयाँ सहयोग गर्ने निणर्य गरेका छन । दुईवटा पालिकाले सघाउने भएपछि अस्पतालले सुदूरपश्चिम प्रदेश सरकारको लगानीमा निर्माण हुने अक्सिजन प्लान्टको क्षमता बढाउन पहल थालेको छ ।
यसअघि अस्पतालले प्रदेश सरकारले निर्धारण गरेको क्षमता अनुसार नै अक्सिजन प्लान्ट निर्माण प्रक्रिया थालेको थियो । प्रदेश सरकारको ८० लाख रुपैयाँ लागतमा अक्सिजन प्लान्ट निर्माणको प्रक्रिया शुरु भएको थियो । जसको क्षमता दैनिक २० सिलिण्डर भर्न सक्ने मात्रै रहेको थियो ।














