
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले कार्यकर्ताहरूलाई उद्धार र राहतमा जुट्न निर्देशन दिएका छन् ।
अविरल वर्षासँगै देशका विभिन्न ठाउँमा बाढी पहिरो गइरहेको अवस्थामा राजनीतिक कार्यक्रमभन्दा नागरिकको जीवन रक्षा पहिलो प्राथमिकता भएको भन्दै उनले तत्काल पार्टीको अधिवेशन भन्दा राहत र उद्धारमा जुट्न निर्देशन दिएका हुन् ।
‘देशभर लगातारको वर्षाका कारण जनजीवन प्रभावित भएको छ। मौसम विभाग तथा सम्बन्धित निकायहरूले जारी गरेका सूचना र स्थानीय अवस्थालाई ध्यानमा राख्दै विभिन्न जिल्लामा अधिवेशनका निर्वाचन कार्यक्रमका लागि नयाँ मिति तय गर्न यसअघि नै पत्राचार गरिएको छ,’ उनले भनेका छन् ।
‘अहिलेको अवस्थामा सबैभन्दा पहिलो प्राथमिकता सुरक्षा हो । भौतिक र साङ्गठनिक प्रक्रियाभन्दा नागरिकको जीवनको सुरक्षा ठुलो कुरा हो, त्यसैले जोखिम रहेका स्थानमा निर्वाचनका गतिविधिहरू रोकेर नागरिकको सुरक्षामा केन्द्रित हुनुपर्छ,’ थापाले थप भनेका छन् ।
उनले कांग्रेसका सम्पूर्ण तहका पदाधिकारी, महाधिवेशन प्रतिनिधि र क्रियाशील सदस्यहरूलाई विपद्मा परेका नागरिकको सेवाका लागि खटिन निर्देशन दिएका छन् । ‘आफ्नो–आफ्नो क्षेत्रको अवस्था बुझ्दै अप्ठ्यारोमा परेका नागरिकलाई आवश्यक सहयोग र समन्वय गर्न सक्रिय रूपमा जुट्नुहुन सम्पूर्ण साथीहरूलाई विशेष आग्रह गर्दछु,’ थापाले लेखेका छन् ।
पार्टीको तर्फबाट सभापति थापाले स्थानीय तहमा रहेका पार्टीका संरचनाहरूलाई सरकारी निकाय, सुरक्षा निकाय र स्थानीय स्वयंसेवकहरूसँग हातेमालो गर्दै विपद् व्यवस्थापनमा लाग्न निर्देशन दिएका छन् ।














