
काठमाडौं । नेपाली कांग्रेसले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको गिरफ्तारीबारे सरकारको आधिकारिक धारणा माग गरेको छ । पार्टी प्रवक्ता देवराज चालिसेले वक्तव्य जारी गर्दै सरकारले कानुनी आधार र प्रमाण सार्वजनिक गर्नुपर्ने माग गरेका हुन् ।
नेपाली काग्रेस संवैधानिक सर्वोच्चता, कानूनी शासन, नागरिक अधिकार तथा सबैका लागि कानूनको समान प्रयोगमा विश्वास राख्ने उनले बताएका हुन् ।
‘पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेरको गिरफ्तारीका सम्बन्धमा सरकारी अधिकारीहरूबाटै परस्पर विरोधी धारणा सार्वजानिक हुनु गम्भीर चिन्ताको विषय हो,’ वक्तव्यमा भनिएको छ, ‘गिरफ्तारी कानून सम्मत, आवश्यक र उचित थियो भने सरकारले त्यसको स्पष्ट कानूनी आधार र औचित्य सार्वजानिक गर्न सक्नुपर्छ ।’
कुनै विशेष सुरक्षा चुनौतीबीच अनुसन्धानको आवश्यकता वा अन्य असाधारण परिस्थितिका कारण यस्तो कदम चालिएको हो भने त्यसको विश्वसनीय आधार राज्यले स्पष्ट गर्नुपर्ने कांग्रेसको धारणा छ ।
कांग्रेस अपराधको अनुसन्धान र कानूनको कार्यान्वयनको विपक्षमा नभएको तर कानून कार्यान्वयनको नाममा अस्पष्ट र अन्यौलपूर्ण कानूनी प्रकृया देखिएको अवस्थालाई स्विकार गर्न नसकिने वक्तव्यमा उल्लेख छ ।
‘कानूनको शासन भनेको राज्यले कानून प्रयोग गर्नु मात्र होइन, राज्यका सबै निकायहरू स्वयं पनि संविधान र कानूनको सिमा भित्र रहनु पर्दछ । यस सम्वन्धमा हामी स्पष्ट छौं । कसैले कानूनको उलंघन गरेको छ भने निष्पक्ष अनुसन्धान होस, प्रमाणका आधारमा कारबाही होस् र दोषी ठहरिए कानून बमोजिम सजाय होस् । तर गिरफ्तारी स्वयं दोषको प्रमाण हुँदैन,’ चालिसेले भनेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सुरक्षा थ्रेट भन्दै आइतबार राति ३ बजे चोलेन्द्रलाई सुतिरहेका बेला महाराजगन्जस्थित निवासबाटै नियन्त्रणमा लिएको थियो ।














