Logo
Logo

पार्टीलाई जेठ २ मा फर्काउन ओली सहमत हुनुहुन्छ : माधव नेपाल


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकता कायम राख्न गत फागुन २८ गतेको निर्णय फिर्ता लिएर सम्पूर्ण पार्टी कमिटीलाई २ जेठ २०७५ सालमा फर्काउन सहमति भएको बताएका छन् ।

कोरोनाविरुद्धको खोप लगाउन संसद् भवन नयाँ बानेश्वर पुगेका नेता नेपालले गत फागुन २८ गतेको निर्णय फिर्ता र पार्टीलाई जेठ २ मा फर्काउन प्रधानमन्त्री केपी शर्मा ओली सहमत भएको बताए। आफूहरूको बटमलाइनअनुसार नै प्रधानमन्त्रीसमेत रहेका ओली अगाडि बढ्न चाहेको उनको भनाइ थियो ।

उनले भने, ‘फागुन २८ को निर्णय फिर्ता लिने र जेठ २ गतेको अवस्थामा पुग्ने हाम्रो यो बटमलाइन थियो । त्यसमा पार्टी अध्यक्ष केपी ओलीले सहमति हुन्छ भन्नु भएको छ, बाँकी मोडालिटीबारे छलफल गर्न कार्यद बनाउने भन्ने छ ।’

पार्टीभित्र देखिएका विवाद हल गर्न थप छलफल आवश्यकता पर्न सक्ने पनि उनले बताए । अध्यक्ष ओली र नेपाल बिहीबार चपलीहाइटमा छलफल गरेका थिए। ओलीले नेपालसहित उनी पक्षका चार नेतालाई गरेको निलम्बन फुकुवासमेत गरेका थिए।

प्रतिक्रिया दिनुहोस्