Logo
Logo

गजल : के कुरा गर्नु !


नारायण नेपाल


जुवा परै जाओस् हल्लुँड बोक्न नसक्नेले के कुरा गर्नु !
परेका बेला दुई शब्द खोक्न नसक्नेले के कुरा गर्नु !

जून देखो जूनै टिपौँ घाम देखो घामै टिपौँ गर्छौ तिमेरू,
मनका क्षणिक आवेग रोक्न नसक्नेले के कुरा गर्नु !

यो फल पाको तो फल पाको भन्दै चरीसँग हिँड्दा पनि,
हातपरेको चीज पनि टोक्न नसक्नेले के कुरा गर्नु !

हाम्रै बन्धु वरिष्ठका भोजबाट आधा पेट फिर्या गुनासिन्थे,
सित्तैँमा भेट्ता पनि टन्न धोक्न नसक्नेले के कुरा गर्नु !

अनेक तरकीब गरेर चुनाव आफ्नो बनाको अरे,
मुखिया जितेर पजनी तोक्न नसक्नेले के कुरा गर्नु !

उस्को आफ्नो हात उस्कै गालामा पुग्लान् जस्तो पो देख्तैछु,
पाएर पनि वैरीलाई ठोक्न नसक्नेले के कुरा गर्नु !

बेलामा खाने, बेलामा सुत्ने, सोमत राख्ने, तरक्की गर्ने,
जिन्दगीको यौटा पनि मन्त्र घोक्न नसक्नेले के कुरा गर्नु !

प्रतिक्रिया दिनुहोस्