काठमाडौं । संविधानअनुसार अबको ११ दिनमा सरकारले संसदमा बजेट पेश गर्नुपर्ने अवस्था छ । जसअनुसार यतिबेला बजेटबारे संसदमा गरमागरम बहस हुनुपर्ने हो । तर, त्यसको तयारी देखिएको छैन । संसदको बजेट अधिवेशन अन्योलमै छ । नीति तथा कार्यक्रम समेत सरकारले ल्याइएको छैन ।

प्रधानमन्त्री केपी शर्मा ओली ंसंसदको विश्वासको मत लिएर मात्र बजेट ल्याउने तयारीमा बुझिएको छ । त्यसका लागि एमालेभित्रै एकताको विषय मिलिसकेको छैन । राजपाका माग पनि उनले पुरा गर्न सकेका छैनन् । कोरोना र राजनीतिक अन्योलको असर यो वर्ष बजेटमा समेत परेको छ ।
बजेटको तयारी भइरहँदा कर्मचारीहरुलाई भने तलबबृद्धिमा चासो छ । सामान्यतया हरेक २ वर्षमा कर्मचारीको तलब बृद्धि हुने गरेको छ । गत वर्ष तलब बढेको थिएन । प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि सार्वजनिक रुपमै यो वर्ष तलब र सामाजिक सुरक्षा भत्ता बृद्धि हुने बताएका थिए । जसकारण कर्मचारीहरु यसपटक तलब बृद्धि हुनेमा विश्वस्त छन् । तर, देश कोभिड महामारीमा रहेको बेला आर्थिक स्रोत खुम्चने भएकाले तलब बढाएर राज्यलाई थप आर्थिक भार पार्न नहुने कतिपय अर्थविद्हरुले सुझाएका छन् । उनीहरुले तलबभन्दा महंगी भत्ता बढाउन सुझाव दिएका छन् । त्यसकारण तलबको विषयमा अर्थ मन्त्रालय अन्योलमा छ । तलब बृद्धि हुँदा करिब ६ लाख राष्ट्रसेवक लाभान्वित हुनेछन् ।
सामाजिक भत्ता र तलब दुवै चुनावसँग समेत जोडिएका विषय हुन् । प्रधानमन्त्री ओलीले ३० दिनभित्र विश्वासको मत लिन नसकेमा देश फेरि चुनावमा जाने अवस्था छ । त्यस्तो परिस्थिती देखिएमा सरकारले जसरी पनि तलब र सामाजिक सुरक्षा भत्ता बढाउने छ ।
उता प्रहरीालाई भने तलबसँगै राशनभत्ता बृद्धिको समेत चासो छ । ६ वर्षदेखि सुरक्षाकर्मीको राशनभत्ता वृद्धि हुन सकेको छैन । ६ वर्षमा ३५ प्रतिशत महंगी बढेपछि पेटभरी खान पुग्न राशनभत्ता समेत राज्यले दिएको छैन । जसकारण यसपटक जसरी पनि राशनभत्ता बढाउनुपर्ने अवस्था छ । गृह मन्त्रालयले यसअघि नै राशनभत्ता बढाउन सिफारिस गरिसकेको छ ।











