नेपालगन्ज । बाँकेको भेरी अस्पतालमा बिहीबार राति चिकित्सकमाथि आक्रमण गर्ने मुख्य व्यक्ति सत्तारुढ दल नेकपा एमाले नेता भएको पाइएको छ ।
बिहीबार राति कोरोना संक्रमित ५४ डिल्ली बहादुर रावतको उपचारको क्रममा मृत्यु भएपछि अस्पतालका चिकित्सकमाथि आक्रमण भएको थियाे ।
रावतको उपचारको क्रममा मृत्यु भएपछि उनका भाइ मानबहादुर रावत लगाएका व्यक्तिले उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आक्रमण गरेका थिए । उनी लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलका विश्वासपात्र हुन् ।
मानबहादुर नेकपा एमाले दाङ जिल्ला कमिटी सचिवालय सदस्य हुन् । नेकपा एमाले ओली समूहको लुम्बिनी प्रदेश कमिटीमा रावलले आफू रहेको दाबी गर्दै आएका छन् । तर, एमाले लुम्बिनी प्रदेश अध्यक्ष लीला गिरीले भने रावत आफ्नो कमिटीमा नभएको बताएका छन् ।
जेठ ४ गते भर्ना गरिएका डिल्ली बहादुरको अवस्था गम्भीर भएपछि चिकित्सकले भेन्टिलेटरमा राखेका थिए । डिल्ली बहादुरको मृत्यु भएपछि उनका भाइ र छोराहरुले डा चन्द्रप्रकाश साहु र नर्सहरू अस्मिनी गुरुङ र सदीक्षा गैरेलगायतमाथि हातपात गरेका थिए ।
घटना लगत्तै प्रहरीले मानबहादुर रावत, र मृतकका दुई छोरालाई पक्राउ गरी अनुसन्धान थालेको छ । घटनाको छानबिन गर्न जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी शङ्कर विष्ट नेतृत्वमा ७ सदस्यीय समिति निर्माण गरिएको छ ।
कोभिड बिरामीको उपचारमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण भएको भन्दै नर्सिङ संघ बाँकेले शुक्रबार अस्पताल परिसरमै प्रदर्शन सुरु गरेको छ । प्रदर्शनमा उत्रिएका स्वास्थ्यकर्मीले ‘अस्पतालमा राजनीति चल्दैन, हामीलाई न्याय चाहियो, दोषीलाई कारबाही गर, दोषीलाई लुकाउन पाइँदैन, मुख्यमन्त्रीको आडमा स्वास्थ्यकर्मीलाई कुट्न पाइँदैन,’ भन्दै नारा लगाइरहेका छन् ।
सरकारी चिकित्सक संघ (गोदान)ले पनि कोभिड आइसियु कक्षमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हातपात गरेकोप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
चिकित्सक तथा स्वास्थ्यकर्मीले महामारीको समयमा कठिनाइका बाबजुद निरन्तरता दिइरहेका बेला उपचारमा बाधा पुर्याउने, चिकित्सक लगायत स्वास्थ्यकर्मीहरूमाथि हातपात, गालीगलौज र ज्यान मार्ने प्रयास गरी अमानवीय हर्कतप्रति गोदानका अध्यक्ष डाक्टर रविन खड्का र महासचिव डाक्टर कीर्तिपाल सुवेदीद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा घोर भत्सर्ना गरिएको छ ।












