
काठमाडाैं । हङकङ नेपाली महासंघले दातृ संस्था ‘सोएर्स एक्शन’ संगको सहकार्यमा तत्काल २ सय वटा अक्सिजन कन्सेन्ट्रेटर नपाल पठाउने भएको छ ।
नेपालमा कोभिड १९ महामारीको रुप फैलिरहेको र अक्सिजनको अभावमा कयौं विरामीहरुले अकालमै ज्यान गुमाईरहेको अवस्थालाई मध्यनजर गर्दै हङकङ पोलिस फोर्सको विशेष समन्वयमा पहिलो फेजको रुपमा हङकङकै दातृ संस्था ‘सोएर्स एक्शन’ बाट प्राप्त हुने अक्सिजन कन्सेन्ट्रेटर तत्काल एयर कार्गो मार्फत नेपाल पठाइने भएको हो ।

महासंघले हङकङका नेपाली महावाणिज्यदुतसंगको सहकार्यमा देशको ७७ वटै जिल्लाको सरकारी अस्पतालहरुमा वितरण गरिने जनाएको छ ।

यस्तै, महासंघले दोस्रो चरणमा महावाणिज्यदुतावास मार्फत सरकारबाट माग प्राप्त भई आएको अन्य स्वास्थ्य सामग्री नेपाल पठाईने जनाएको छ । महासंघले ‘सोएर्स एक्शन’ संगको सहकार्यमा जुन महिनाको तीसै दिन र ३ सिफ्टमा गरी २४ घण्टा ‘च्यारिटी वाल्क’ गर्ने योजना रहेको समेत बताएको छ ।
‘च्यारिटी वाल्क’ मा सहभागी भएर वा स्वयम सेवक बनेर समेत ‘हेल्प नेपाल फाइट अगेन्स्ट कोभिड–१९ क्याम्पेन’ लाई सहयोग गर्न महासंघले अपिल समेत गरेको छ ।

महासंघका अध्यक्ष टंक राना, पुर्व अध्यक्ष प्रदीप थापा र रिता गुरुडको विशेष पहलमा बसेको भेलामा सहभागी संघ सस्थाले सामग्रीहरू खरिद गर्न तथा नेपाल पठाउन लाग्ने ढुवानी खर्चमा सघाउने प्रतिवद्धता जनाएका थिए ।
यस्तै, भेलाले निषेधाज्ञाका कारण नेपालमा अड्किएका बिरामी तथा विधार्थीलाई हङकङ फर्काउन पहल गर्ने समेत निर्णय गरेको छ ।











