Logo
Logo

मेरो फेसनमै बढी खर्च हुन्छ- विपना थापा, मोडल तथा कोरियोग्राफर


- दृष्टि न्युज/संवाददाता


मोडललाई मात्र नभएर कोरियोग्राफरहरुलाई पनि भ्याइनभ्याई छ अहिले । दैनिकजस्तो यहाँ विभिन्न नामका इभेन्ट तथा सौन्दर्य प्रतियोगिताहरु हुने गरेको छ । जसले कोरियोग्राफरहरु व्यस्त हुँदै आएका छन् भने सांगीतिक क्षेत्रमा बढ्दो म्युजिक भिडियो निर्माणको ट्रेण्डले मोडलहरु व्यवसायिक भएका छन् । यस्तै व्यवसायिक मोडल तथा कोरियोग्राफरमध्ये एक हुन् विपना थापा । करिब ६ वर्षयता मोडलिङ र इभेन्ट कोरियोग्राफीमा व्यस्त विपना भन्छिन्, ‘हिजोआज कोरियोग्राफीलाई प्राथमिकता दिएकी छु ।’ पाँच दर्जनभन्दा बढी म्युजिक भिडियो तथा विभिन्न ¥याम्प शोहरु गर्दागर्दै कोरियोग्राफी अँगालेकी विपना आफैपनि फेसन कन्सस छिन् । पछिल्लो समय नेपाली समाज नै फेसन कन्सस हुन भएको उनको बुझाइ छ । हाल बागबजारस्थित इन्टरनेशनल इन्स्टिच्युट अफ फेसन टेक्नोलोजी ‘आईआईएफटी’मा फेसनबारे अध्यापनसमेत गराउँदै आएकी मोडल एवं कोरियोग्राफर विपना थापासँग एमपी सुब्बाको जम्काभेट :

विपना थापा, मोडल तथा कोरियोग्राफर

हिजोआज के गर्दै हुनुहुन्छ ?

इभेन्टहरुमै व्यस्त छु । भर्खरैमात्र ‘कलेज क्वीन नेपाल’ सम्पन्न भयो । त्यसको कोरियोग्राफी गरेकी थिएँ । हालचाहिँ म आईआईएफटीका विद्यार्थीलाई फेसनबारे क्लास दिइरहेकी छु ।

तत्काल कुनै इभेन्ट गर्दै हुनुहुन्छ कि ?

तत्काल त छैन । म आईआईएफटीमै अब दुई महिना व्यस्त हुन्छ । आईआईएफटीकै विद्यार्थीबीच फेसन कम्पिटिशन हुँदैछ । जसको कोरियोग्राफी मै गर्दैछु । त्यसैले यो दुई महिनासम्म अन्य समय दिन पाउँदिनँ ।

कोरियोग्राफीकै व्यस्त देखिनुहुन्छ । यो क्षेत्रमा लाग्नुभएको कति भयो ?

फेसन तथा इभेन्ट कोरियोग्राफी गर्न थालेको चाहिँ करिब ६ वर्ष भयो । त्योभन्दा अगाडि मोडलिङ गर्थेँ ।

हिजोआज मोडलिङ गर्नुहुन्छ कि हुन्न ?

म्युजिक भिडियोहरु चाहिँ खाशै गरेकी छैन । ‘फेसन शो’हरुमा चाहिँ शोजटपरका रुपमा ¥याम्पमा हिड्ने गरेकी छु । इभेन्टमै व्यस्त हुँदा म्युजिक भिडियोलाई समय दिन पाएकी छैन ।

मोडल हुँदै कोरियोग्राफरसम्म आइपुग्नुभयो । के सोचेर यस क्षेत्रमा लाग्नुभएको थियो ?

मेरो रुचि नै कोरियोग्राफर बन्ने थियो । त्यसैले मोडलिङ क्षेत्रमा लागेकी हुँ । अहिले आएर आफ्नो रुचि र इच्छाअनुसार काम गर्न पाएकी छु । त्यसैले खुसी छु ।

तपाइँ जतिखेर कोरियोग्राफर बन्ने सपनासहित मोडलिङमा लाग्नुभएको थियो, त्यतिखेर अहिलेजस्तो सजिलो थिएन नि, होइन र ?

हो, मैले मोडलिङ अँगालेको समयमा फेसन शोहरु एकदमै कम मात्र हुन्थे । म्युजिक भिडियो अहिलेजस्तो धेरै बन्दैनथ्यो । तैपनि आफ्नो इच्छा र रुचिका कारण संघर्ष गर्दै विभिन्न अप्ठ्याराहरु चिर्दै यहाँसम्म आएकी हुँ । अहिले त म्युजिक भिडियोले गर्दा जो पनि मोडल बन्छ र मोडल बन्न सजिलो पनि छ । तर, मैलेचाहिँ मोडलिङ र फेसनसम्बन्धी अध्ययन गरेरै यो क्षेत्रमा आएकी हुँ । मेरो सपना नै कुसल कोरियोग्राफर बन्नु थियो ।

लामो समयदेखि मोडलिङ र फेसनमा सक्रिय हुनुहुन्छ । फिल्ममा चाहिँ किन काम गर्नुभएन ?

फिल्ममा पनि अफरहरु आएको हो । तर, एउटा फिल्म गरेपछि लामो ग्याप बस्नुपर्ने हुन्छ । त्यसैले मलाई फिल्ममा काम गर्ने रुचि नै भएन ।

तपाइँ फेसनबारे ट्रेनर पनि हुनुहुन्छ । खाशमा फेसन केलाई भन्ने ?

फेसनको निश्चित परिभाषा हुँदैन । किनकि, फेसनबारे आ–आफ्नै बुझाइ र परिभाषा हुन्छ । समग्रमा भन्नुपर्दा बजारमा सिजन अनुसार चलेको ट्रेण्ड नै फेसन हो । जसमा सुहाउँदो र कम्फाटेवल हुनुपर्छ ।

तपाइँ आफू कतिको फेसन कन्सस हुनुहुन्छ ?

म त एकदमै फेसन कन्सस छु । मेरो बढी खर्च हुने भनेकै फेसनमा हो । मलाई सिजनल फेसन गर्न मनपर्छ ।

शृंगार र फेसनमा मासिक कति खर्च गर्नुहुन्छ ?

यति नै खर्च गर्छु भन्ने छैन । किनकि अहिलेसम्म हिसाब राख्ने गरेकी छैन । तर, प्राय घरबाहिर निस्किँदा सपिङ गरेकै हुन्छु । शपिङ गर्ने मेरो शौख हो ।

तपाइँलाई मन पर्ने पहिरन र कलर कुन हो ?

पहिरनमा मलाई सारी मनपर्छ । तर, म बढी क्याजुअल लगाउँछु । मलाई मनपर्ने कलरचाहिँ ब्ल्याक हो ।

तपाइँलाई हामी नेपालीहरु कतिको फेसन कन्सस छौँ जस्तो लाग्छ ?

केही वर्षयता चाहिँ निकै फेसन कन्सस भएका छौँ जस्तो लाग्छ । युवापुस्ता मात्र नभएर अहिले आमा–बुबाहरु पनि फेसन गर्न थाल्नुभएको छ । आमसञ्चारको विकासले गर्दा नेपाली समाजमा फेसन ट्रेण्ड चाँडै विकसित भयो । यो खुसीकै कुरा हो ।

प्रतिक्रिया दिनुहोस्