Logo
Logo

ओलीको गलत कामको परिणाम देश र जनताले भोग्दैछन् : माधव नेपाल


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको गलत कामको परिणम देश र जनताले भोगिरहेको बताएका छन् ।

मंगलबार साँझ सामाजिक सञ्जाल मार्फत नेता नेपालले प्रधानमन्त्री ओलीतर्फ संकेत गर्दै नेकपाका साथै नेकपा (एमाले) लाई तहसनहस गरेर गलत बाटो अंगाल्दाको परिणाम सिंगो देशसहित पार्टी र जनताले भोगिरहेको बताएका हुन् ।

नेता नेपालले भनेका छन्- ‘संसदमा झण्डै दुई तिहाई बहुमतका साथमा बलियो सरकार बनेको थियो ! जनचाहना अनुसार इतिहासमै सबैभन्दा ठूलो कम्युनिष्ट पार्टी (नेकपा) बनेको थियो । तर, संसद्, सरकार र पार्टी (नेकपा) साथै नेकपा (एमाले)लाई तहसनहस गरेर गलत बाटो अंगाल्दाको परिणाम सिंगो देशसहित पार्टी र जनताले भोग्दैछन् ।’

सरकार र पार्टीको पदको दुरुपयोग गरेर पटक पटक गलत निर्णय गर्दै जाने स्थितिले पार्टी, देश र कसैलाई पनि गन्तव्यमा नपुर्‍याउने पनि नेता नेपालले स्मरण गराएका छन् । उनले भनेका छन्- ‘सरकार र पार्टीको पदको दुरुपयोग गरेर पटक पटक गलत निर्णय गर्दै जाने स्थितिले पार्टी, देश र कसैलाई गन्तव्यमा पुर्‍याउँदैन र राम्रो परिणाम दिँदैन । हामीले गलत कार्यको खबरदारी गर्दै आएका थियौं र छौं ।’

नेता नेपालले मुलुकलाई भड्खालोमा पुग्नबाट जोगाउन बामपन्थी, लोकतान्त्रिक र परिवर्तनकारी शक्तिहरु एक हुनुपर्ने पनि बताएका छन् ।राष्ट्रको गरिमा उचो राख्न तथा संविधान, गणतन्त्र र नेपाली जनताको हितको रक्षा गर्न सबै वामपन्थी ,लोकतान्त्रिक र परिवर्तनकारी सकारात्मक शक्तिहरू एक पनि नेता नेपालले आह्वान गरेका छन् ।

‘एकताबद्ध पार्टी र आन्दोलन बनाउन लागौं साथै नेपाल राष्ट्रको गरिमा उचो राख्न तथा संविधान, गणतन्त्र र नेपाली जनताको हितको रक्षा गर्न सम्पूर्ण वामपन्थी ,लोकतान्त्रिक र परिवर्तनकारी सकारात्मक शक्तिहरू एक हौं। मुलुकलाई भड्खालोमा पुग्नबाट समयमै जोगाऔं,’ नेता नेपालले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्