काठमाडाैं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा रहेको अनुगमन समितिले विद्यालय तहका पाठ्यपुस्तकको बजारमा देखिएका मनोमानीबारे अनुगमन प्रारम्भ गरेको छ ।
केन्द्रका महानिर्देशक एवं अनुगमन समितिका संयोजक वैकुण्ठ अर्यालको नेतृत्वमा आज काठमाडौँको भोटाहिटी बजारमा अनुमगन गर्दा कतिपय पसलका पुस्तकमा मूल्य सूचीमा कालो पोतिएको, तोकिएभन्दा बढी मूल्य कायम गरेको, नेपालको पुरानै नक्साको तस्वीर प्रकाशन गरेको पाइएको छ ।
अनुगमन समितिका सदस्य एवं नेपाल अभिभावक महासङ्घका अध्यक्ष सुप्रभात भण्डारीका अनुसार अनुगमनलाई निरन्तरता दिई कारबाहीका लागि प्रतिवेदन तयार गरिनेछ ।
गत जेठ २६ गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले नेपालको पुरानै नक्सा भएको पाठ्यपुस्तक जफत गर्न निर्देशन दिएका थिए । मन्त्री श्रेष्ठले पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषदको बैठकमा लिम्पियाधुरा, लिपुलेक नसमेटिएको नक्सा प्रकाशन भएको पुस्तक जफत गर्न निर्देशन त दिए । तर, त्यसलाई छापाखानाले अवज्ञा गरेको छ ।











