Logo
Logo

निलम्बित सांसद प्रवेशपछि कर्णाली प्रदेशसभा अवरूद्ध


दृष्टि संवाददाता


काठमाडाैं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधपछि कर्णाली प्रदेशसभा स्थगित भएको छ। 

एक महिनाका लागि निलम्बन गरिएका दुई जना मन्त्री प्रदेश सभाको बैठकमा सहभागी भएपछि एमालेले आठौँ अधिवेशनको १३ औँ बैठक पनि अवरुद्ध गरको हो।

बैठक कार्यसूचीमा प्रवेश नगर्दै एमाले संसदीय दलका नेता यामलाल कंडेलले सर्वोच्च अदालतको आदेश अनुसार उनीहरू एमालेको सांसद भएको बताउँदै प्रदेशसभामा निर्दलीय व्यवस्था शुरू गर्न खोजिएको हो ? भनेर प्रश्न गरे ।

एमालेले उनीहरूलाई संसदीय काम र कारवाहीमा सहभागी गराउन नपाइने माग गर्दै आएको छ ।

‘वैशाख ३ गते फ्लोर क्रस गरेर संसदीय दलको निर्णयविरुद्ध जाने चारैजनालाई कारवाही एमालेले गरेको हो । संसदीय दलको सदस्य र पार्टीको साधारण सदस्यबाटसमेत हटाएको हो । हामीले चाहेर वा खोजेर अथवा हारगुहार गरेर उहाँहरू सांसद हुनु भएको होइन । उहाँहरूलाई सर्वोच्च अदालतले नै एमाले संसदीय दलको सदस्यको हैसियतमा फर्काइदिएको हो’, नेता कंडेलले भने ।

एमालेले सभामुखले भनेको नमान्ने र सभाको मर्यादा पालनाको उल्लंघन गर्दै आएको छ। यसले गर्दा कर्णालीमा एमालेबीच किचलो दिनप्रति दिन बढ्दै गएको प्रस्ट देखिएको छ।

प्रदेशसभामा बैठक एमालेले अवरुद्ध गरेपछि सभामुख राजबहादुर शाहीले असार १८ गते दिउँसो २ बजे सम्मका लागि बैठक स्थगित गरेका छन्।

प्रतिक्रिया दिनुहोस्