सर्लाही । मुुलुकको सबैभन्दा धेरै २० वटा स्थानीय तह रहेको सर्लाहीमा १८ स्थानीय तहले समयमै नगर तथा गाउँसभा गरी बजेट ल्याएका भने प्रमुख प्रसाशकीय अधिकृत नहुँदा दुई वटा स्थानीय तहले बजेट ल्याउन सकेका छैनन् ।
जिल्लाको धनकौल र रामनगर गाउँपालिकाले गाउँसभा गर्न सकेनन् । धनकौल र रामनगरमा प्रमुख प्रशासकीय अधिकृतको विवाद छ । धनकौल गाउँपालिकामा गत शुक्रबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट सबै खाता रोक्का गर्दै प्रमुख प्रशासकीय अधिकृतका रूपमा काम गर्दै आएका महफुज अहमदलाई अन्यत्र सरुवा गरेपछि नगरसभा हुन नसकेको गाउँपालिकाले जनाएको छ ।
आर्थिक वर्षको अन्तिम समयमा अधिकृतको सरुवाको पत्र आएपछि विकासे काम प्रभावित हुनुको साथै नगरसभा पनि हुन नसकेको गाउँपालिकाका अध्यक्ष रामअश्रेय साहले बताए ।अध्यक्ष साहले अधिकृत नहुँदा नगरसभा कहिले हुने भन्नेबारेमा अन्योल भएको जानकारी दिए । नयाँ अधिकृत पनि गाउँपालिकामा हाजिर हुन नआएको उहाँको भनाइ छ ।
रामनगर गाउँपालिकामा पनि प्रमुख प्रशासकीय अधिकृतको विवाद छ । त्यहाँ राजनीतिक विवादका कारण गाउँपालिकामा तीन जना प्रशासकीय अधिकृत एकैपटक उपस्थित भएपछि विगत एक महिनादेखि नगरको कामकाज प्रभावित हुँदै आएको छ । अधिकृतकै कारण गाउँसभा हुन नसकेको गाउँपालिकाका अध्यक्ष कृष्ण वर्माले बताए ।
जिल्लामा बीसवटा स्थानिय निकाय रहेका र अरु सबै १८ वटा स्थानिय निकायले समयमै अर्थात् असार १० गते नै नीति तथा कार्यक्रम सार्वजनिक गर्दै बजेट ल्याएका छन् ।











