Logo
Logo
धान दिवस

महामारीकै बीच आज देशभर धान दिवस मनाइँदै


दृष्टि संवाददाता


काठमाडौं । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही च्यूरा खाएर मनाइँदै छ । कोरोना महामारीका कारण यस वर्षको धान दिवस भने औपचारिकतामा मात्र सीमित हुने कृषि विभागले बताएको छ ।

विभागका वरिष्ठ बाली विकास अधिकृत मोहनप्रसाद खतिवडाका अनुसार स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै औपचारिक रूपमा मात्रै धान दिवस मनाइनेछ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही च्यूरा खान्छन् ।

यसबेला दही च्यूराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वको रुपमा पनि लिइन्छ । खेतीपाती बाहेक अन्य पेशा र व्यवसायमा लागेका नेपालीले पनि आज दही च्यूरा खाई असार १५ मनाउँछन् ।

हाम्रो संस्कृतिमा दहीको स्थान महत्वपूर्ण छ । शुभकार्यका लागि घरबाहिर निस्कने, विदेश जाने आदि महत्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ । यस्ता शुभ काममा निस्कनु अघि सगुनका रुपमा पनि दही खुवाएर बिदाइ गरिन्छ । निस्कने बेलामा दही खाएर हिँडे साइत पर्ने जनविश्वास रही आएको छ ।

दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवद्र्धक मानिन्छ । गुरु गोरखनाथले नेपालको एकीकरणकर्ता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहलाई दही खान दिएर पराक्रमी हुने भविष्यवाणी गरेको भनिन्छ । आयुर्वेदमा भोजनको अन्त्यमा दही मथेर बनाएको मोही पिएमा औषधि उपचारका लागि स्वास्थ्यकर्मीकहाँ जानु नपर्ने बताइएको छ ।

‘भोजनान्ते पिबेत् तक्रं वैद्यस्य किं प्रयोजनम्’ भन्ने जस्ता वाक्य पनि आयुर्वेदमा उल्लेख गरिएको छ । दहीले पाचन शक्ति पनि बढाउँछ । पखाला लागेका बेला दही च्यूरा खाएमा औषधिको काम गर्छ । यसैले दही च्यूरा खाने संस्कारले नेपाली संस्कृतिमा बृहद् रुप लिएको छ । यसरी असार १५ गते नेपाली समाजमा राष्ट्रिय सांस्कृतिक पर्व बन्न सफल भएको छ ।

धान दिवस
विसं २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेशा खेतीपाती हो ।

किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपु छुपु हिलोमा धान रोपिन्छ । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोक लयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ ।

मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापा छ्याप गरेर मनोरञ्जन गर्छन् । असारमा एकपटक हिलोमा पस्नै पर्ने मान्यता पनि नेपालीमा समाजमा रहेको छ ।

कोरोना महामारीकै बीच मंगलवार देशभर राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइँदै छ । ‘धान उत्पादनमा वृद्धिः खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि’ नाराका साथ यस वर्ष अठारौं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउन लागिएको हो ।

अठारौं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, मूल समारोह समितिको आयोजनामा मंगलवार खुमलटारस्थित कृषि अनुसन्धान परिषद्को जग्गामा धान रोपाइँ गरी सरकारले औपचारिक रूपमा धान दिवस मनाउन लागेको हो । धानबालीको उत्पादनमा वृद्धि गरी खाद्य सुरक्षा, आत्मनिर्भता र राष्ट्रिय समृद्धि हासिल गर्ने दिशामा सहकार्यका लागि सम्पूर्ण सरोकारवालालाई सरकारले आह्वान गरेको छ ।

देशभर अन्य विभिन्न जिल्लामा समेत औपचारिक रूपमा सामान्य कार्यक्रम गरी धान रोपेर धान दिवस तथा रोपाइँ महोत्सव मनाउन लागिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बताएको छ । कोरोनाको महामारीलाई ध्यानमा राख्दै भीडभाड नगरी सुरक्षाका मापदण्ड पालना गरी धान दिवस मनाउन आग्रह गरिएको मन्त्रालयका प्रवक्ता डा. श्रीराम घिमिरेले जानकारी दिए ।

नेपालमा धान तथा यसका उपउत्पादनको आन्तरिक आपूर्ति करीब १ खर्ब ५ अर्ब रुपैयाँ बराबरको हुने गरेको सरकारी तथ्यांक छ । सरकारको पछिल्लो तथ्यांक अनुसार कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान करीब २६ प्रतिशत रहेको छ । कृषि क्षेत्रको गार्हस्थ्य उत्पादनमा भने धानको हिस्सा करीब १५ प्रतिशत रहेको छ ।

नेपालमा कृषियोग्य जमीनको ४७ प्रतिशतमा धानखेती गरिन्छ । अन्नबालीको कुल उत्पादनमा ५३ प्रतिशत हिस्सा धानको रहेको छ । चालू आव २०७७र७८ मा १४ लाख ७३ हजार हेक्टर क्षेत्रफलबाट ५७ लाख २१ हजार मेट्रिकटन धान उत्पादन भएको छ । अघिल्लो वर्षको तुलनामा धानको क्षेत्रफल र उत्पादनमा क्रमशः १ प्रतिशत र १ दशमलव ३ प्रतिशतले वृद्धि भएको सरकारी तथ्यांकले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्