Logo
Logo

मेसीको उत्कृष्ट प्रदर्शनले अर्जेन्टिना सेमिफाइनलमा (भिडियो)


दृष्टि संवाददाता


काठमाडौं । अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश गरेको छ । कप्तान लिओनल मेसीले एक गोल र दुई एसिस्ट गरेको खेलमा जित निकाल्दै अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश गरेको हो ।

आइतबार विहान सकिएको खेलमा इक्वेइडरलाई ३-० गोलले पराजित गर्दै अर्जेन्टिना अन्तिम चारमा पुगेको छ । अर्जेन्टिनाको जितमा डि पाउल, लाउटारो मार्टिनेज र लिओनल मेसीले एक-एक गोल गरे ।

खेलको ४० मिनेटमा डि पाउलले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए । मेसीले उपलब्ध गराएको पासमा उनले बललाई गोल गरेका थिए ।

खेलको ४५ मिनेटमा अर्जेन्टिनाले अग्रता दोब्बर बनाउने सुवर्ण अवसर खेर फालेको थियो । गोन्जालेजले मेसीको पासमा हेडमार्फत प्रहार गरेको थिए । तर उक्त प्रहारलाई इक्वेइडरका गोलकिपरले फर्काए । रिबाउन्डमा गोन्जालेजको प्रहार सफल हुन सकेन ।

८४ मिनेटमा अर्जेन्टिनाले अग्रता दोब्बर पार्‍यो । मेसीले दिएको पासमा मार्टिनेजले पेनाल्टी एरियाबाट फिनिसिङ गरेका थिए । दोस्रो हाफको इन्जुरी टाइममा इक्वेइडर १० खेलाडीमा सीमित बन्यो । अर्जन्टिनाका डि मारियालाई फल गरेपछि इक्वेइडरका हिन्कपीलाई रातो कार्ड दिइएको थियो ।

लगत्तै अर्जेन्टिनाले तेस्रो गोल गर्‍यो । लिओनल मेसीले उनले फ्रिकिकमार्फत उत्कृष्ट गोल गरेका थिए । अब फाइनल प्रवेशका लागि अर्जेन्टिना र कोलम्बियाबीच प्रतिस्पर्धा हुनेछ ।

कोलम्बियाले आइतबार नै भएको खेलमा उरुग्वेलाई पेनाल्टी सुटआउटमा ४-२ गोलले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । अब अर्को सेमिफाइनलमा आयोजक ब्राजिल र पेरुबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्