Logo
Logo

शंकर पोखरेल नेतृत्वको सरकारलाई समर्थन छैन : सांसद रायमाझी


दृष्टि संवाददाता


काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) लुम्बिनी प्रदेश सांसद सुमन शर्मा रायमाझीले मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारलाई समर्थन नभएको बताएकी छन् ।

आइतबार प्रदेश सभा सचिवालयलाई पत्र पठाएर सांसद रायमाझीले सरकारलाई समर्थन नरहेको बताएकी हुन् । उनले आफू संसदीय दल र पार्टीको निर्णय विपरीत पोखरेल नेतृत्वको सरकारमा सहभागी भएको, तर हाल राज्यमन्त्री पदबाट राजीनामा दिई विपक्षमा रहने निर्णय गरेको संसद सचिवालयलाई जानकारी गराएकी हुन् । पोखरेल नेतृत्वको सरकारमा सहभागी रायमाझीले १८ असारमा राजीनामा दिएकी थिइन्। 

उनले प्रदेश सभा सचिवालयलाई पठाएको पत्रमा भनेकी छन्, ‘अब पार्टीको मूलधारमा रही दलको नेता मा।सहसराम यादवको नेतृत्वमा काम गर्ने र शंकर पोखरेल नेतृत्वको सरकारलाई मेरो कुनै किसिमको समर्थन नरहेको व्यहोरा जानकारीका लागि अनुरोध छ।’

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र राष्ट्रिय जनमोर्चाले मुख्यमन्त्री पोखरेलविरुद्ध वैशाखमा अविश्वास प्रस्ताव दर्ता गरेका थिए । अविश्वास प्रस्ताव दर्ता गरेकै दिन मुख्यमन्त्री पोखरेलले रायमाझीसहित जसपाका चार सांसदलाई मन्त्री नियुक्त गरेका थिए । जसले गर्दा पोखरेलको पक्षमा बहुमत बनेको थियो ।

पार्टी निर्णय विपरीत पोखरेलको सरकारमा सहभागी भएको उल्लेख गर्दै सांसद रायमाझीले अब समर्थन नरहेको जनाएकी हुन् । राज्यमन्त्री पदबाट राजीनामा दिएसँगै सरकारको विपक्षमा रहेको उनले प्रदेश सभालाई जानकारी दिएकी हुन् । 

उनले राज्यमन्त्रीबाट राजीनामा दिएर समर्थन नरहेको जानकारी दिएसँगै पोखरेल नेतृत्वको सरकार अप्ठ्यारोमा परेको छ। उनलाई बहुमत पुर्‍याउन सकस हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्