काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका-१, भैँसेमा भएको सुमो दुर्घटनामा मृत्यु भएका एक व्यक्ति र घाइतेहरूको परिचय खुलेको छ । बिहान ८:३० बजेको समयमा हेटौँडाबाट काठमाडौँतर्फ जाँदै गरेको ना.१ ज. २१४३ नम्बरको सुमो गाडी अनियन्त्रित भई सडकबाट करिब ७ मिटर तल राप्ती खोलामा
खसेको थियो ।

दुर्घटनालगत्तै गाडीमा सवार १० जनालाई उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता माधव काफ्लेका अनुसार अस्पताल पुर्याइएकामध्ये रौतहट जिल्ला, चन्द्रनिगाहपुर नगरपालिका–३ बस्ने ५० वर्षीय बम बहादुर वाइबाको मृत्यु भएको छ ।
दुर्घटनामा मृत्यु भएका २ जनाको भने अझै सनाखत हुन सकेको छैन । दुर्घटनामा घाइते भई हालसम्म परिचय खुलेका ७ जना पनि रौतहटकै चन्द्रनिगाहपुर नगरपालिकाका बासिन्दा रहेका छन् । दुर्घटनामा चपुर-४ का ३३ वर्षका सुमो चालक कालुमान लोप्चन , चपुर-३ का १६ वर्षका निमा थिङ, वर्ष ५८ का कान्छा ध्वज, वर्ष १५ का सुमिना थिङ, वर्ष १६ की शिखा लामा, वर्ष ५५ की हरिमाया थिङ र चपुर-४ बस्ने वर्ष १९ की वय हाङ राना मगर घाइते भएका छन् ।


















