काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा (बादल)ले आगामी निर्वाचन फासीवादी तथा पपुलिस्ट शक्तिहरू र लोकतान्त्रिक तथा राष्ट्रवादी शक्तिहरूबीचको भीषण सङ्घर्ष हुने बताएका छन् ।

पार्टीको दुईदिने राष्ट्रिय भेलालाई आज सम्बोधन गर्दै उनले राष्ट्रिय स्वाधीनता, लोकतन्त्र र समृद्धिका लागि सङ्घर्षको विकल्प नभएका बताएका हुन् । उनले भने, ‘विगतको निर्वाचन पपुलिस्ट तथा फासीवादी शक्तिहरू र लोकतान्त्रिक तथा राष्ट्रवादी शक्तिहरूबीचको सङ्घर्ष थियो । आउने चुनाव पनि यिनै दुई पक्षबीचको शक्ति सङ्घर्ष हुने निश्चित छ ।’
गत निर्वाचनको परिणाम दोहोरिने वा क्रमभङ्ग हुने विषय अहिलेको मुख्य राजनीतिक प्रश्न रहेको उनले बताए । निर्वाचन सामान्य नहुने भन्दै पार्टीभित्रको एकता सुदृढ गर्नुपर्नेमा आवश्यक रहेको उनको भनाइ रहेको छ । चिनियाँ रणनीतिकार सुन जुको उक्ति उद्धृत गर्दै ‘आफूलाई चिन, शत्रुलाई चिन’ भन्ने धारणा आत्मसात् गर्नुपर्ने बताए ।
गत निर्वाचनमा प्रमुख प्रतिद्वन्द्वी चिन्न नसकेको, कमजोरी पहिचान गर्न नसकेको र सहकार्य गर्न नसकेको उनले स्वीकार गरे । भूराजनीतिक सङ्घर्ष तीव्र बन्दै गएको, लोकतान्त्रिक शक्तिबीच सहकार्य बढेको र सरकारप्रति जनताको आक्रोश चुलिएको दाबी गर्दै संसदीय, सडक तथा कानुनी सङ्घर्षमा विजयको संकेत देखिएको उनले बताए ।


















